सुदूरपश्चिममा सरकार फेरिने चर्चा

सुदूरपश्चिममा सरकार फेरिने चर्चा

धनगढी, ३० असार, संघीय सरकार परिवर्तन भएसंगै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु परिवर्तन हुने चर्चा शुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमा सरकार गठन भएसंगै सुदूरपश्चिममा पनि त्यही गठनबन्धन अनुसार सरकार गठन हुने भएको छ ।

माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री त्रिलोचन भट्ट ढिलोमा भदौ महिनाभित्र परिवर्तन हुने माओवादी केन्द्रका एक नेताले बताए ।

‘सकभर साउन, ढिलोमा भदौ भित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री फेरिनेछन्’ ती नेताले भने, ‘केन्द्रमा गठनबन्ध नभएपनि हामी प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने मनस्थितिमा पहिले देखि नै थियौ ।’

नेपाली काँग्रेसलाई माओवादी केन्द्र लगायतका दलहरुले गण्डकी प्रदेशमा सघाउदा त्यहाँ काँग्रेसका मुख्यमन्त्री नियुक्त भएका छन् । काँग्रेसले लुम्बिनी प्रदेशमा माओवादीलाई सघाउदैछ । त्यहाँ माओवादीका तर्फबाट कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउने प्रयास जारी छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई काँग्रेसको समर्थन प्राप्त छ । शाही पनि माओवादी केन्द्रका नेता हुन् ।

अब सुदूरपश्चिममा भने माओवादीले काँग्रेसलाई सघाउने भएको छ । सुदूरपश्चिममा उसले काँग्रेसलाई मुख्यमन्त्री पद छोड्ने भएको छ ।सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहराको पद खारेजीमा परेको छ । जस कारण हाल सुदूरपश्चिम प्रदेश सभामा ५२ जना सदस्य छन् । यहाँ माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सदस्य समेत जोडेर २७ जना सांसद पुग्छन । जुन सरकार गठनका लागि पर्याप्त संख्या हो ।

सकेसम्म केन्द्रीय गठबन्धन अनुसार माधव समूहका एमालेका सांसदहरुलाई पनि सरकारमा सहभागी गरिने ती माओवादी नेताले बताए ।सुदूरपश्चिममा माओवादी केन्द्रभित्र रहेको चर्को बिबाद र एकले अर्कालाई स्वीकार नै गर्न नसक्ने अवस्था रहेकोले माओवादी केन्द्रको मुख्यमन्त्री दोहरिने संभावना भने छैन ।

मुख्यमन्त्रीका दावेदार रहेका माओवादी केन्द्रका बीरमान चौधरीलाई भने माओवादीकै नेताहरु र मुख्यमन्त्री भट्टले स्वीकार गर्दैनन् । त्यसैले उनको नाममा सहमती जुट्ने संभावना छैन ।सुदूरपश्चिम प्रदेश सरकार नेपाली काँग्रेसको भागमा परे काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल मुख्यमन्त्री हुनेछन् ।