सुदूरपश्चिममा डेंगुले भयावह रुप लिदैं

सुदूरपश्चिममा डेंगुले भयावह रुप लिदैं

२६ भदौ, धनगढी
सुदूरपश्चिममा डेंगुको संक्रमण दिनदिनै बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार विभिन्न जिल्लामा गरी यस प्रदेशमा बिहीबारसम्म डेंगु र स्क्रव टाइफसका विरामीको संख्या ७७ पुगेको छ । डेंगुका ३२ र स्क्रव टाइफसका विरामी ४५ पुगेका छन् ।
डेंगुबाट सबैभन्दा बढी कैलालीमा विरामीको संख्या छ । १५ जना डेंगु र ५ जना स्क्रव टाइफसका विरामी कैलालीमा देखिएको मन्त्रालयले जनाएको छ । यस्तै डडेलधुरामा सबैभन्दा बढी स्क्रव टाइफसका विरामी फेला परेका छन् । डेडेलधुरामा बिहीबारसम्म ४० जनामा स्क्रव टाइफस देखिएको छ । डेंगुबाट हालसम्म कैलालीपछि दार्चुलामा बढी संख्या देखिएको छ । दार्चुलामा ८, कञ्चनपुरमा ६, डोटीमा १, अछाममा १ र बैतडीमा एक जनामा डेंगु देखिएको छ । यी मध्ये डोटीमा एकजनाको मृत्यु भइसकेको छ । विरामीहरु कतिपय उपचारपछि घर फर्किसकेको र कतिपय उपचाररत रहेको मन्त्रालयका अधिकृत हेमराज खड्काद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
मलेरिया र डेंगु लामखुट्टेबाट पैदा हुन्छ । तर दुई अलग जातका लामखुट्टेबाट यी रोग उत्पन्न हुन्छन् । स्वास्थ्यकर्मीकाअनुसार मलेरिया एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।
सबै क्षेत्रबाट डेंगुको प्रभाव नियन्त्रण गर्न हातेमालो गर्न मन्त्रालयले आव्हान गरेको छ । बिहीबार मन्त्रालयले डेंगु नियन्त्रण गर्न आवश्यक कदम चालिरहेको जानकारी गराउन आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भन्छन् ‘डेंगुको महामारी हुन नदिन सबै क्षेत्र जुटौं ।’