सर्वसाधारण विरामीलाई हदै हैरानी

सर्वसाधारण विरामीलाई हदै हैरानी

सुदीप थापा, २० चैत (धनगढी)
कोरोना भाईरसको संक्रमण बढ्न नदिन सरकारले लकडाउन गरेसँगै अन्य रोगका सर्वसाधारण विरामीहरु संकटमा छन् ।
पाँच दिनअघि डोटीको केआईसिंह गाउँपालिका डुम्राकोटका अमृत विक्रम शाहीलाई एकाएक अत्यधिक पेट दुख्ने समस्या भएपछि थालेपछि परिवारका सदस्यहरुले जसोतसो एम्बुलेन्सको जोहो गरेर गाउँदेखि शिलगडीमा रहेको शैलेश्वरी अस्पतालमा पुर्याए । चिकित्सकहरुले उनलाई एपेन्डिसाईटिस भएर पेट दुेखेको बताए । डाक्टरले अमृतको आन्द्रामा समस्या भएको, रगतमा समस्या र किड्नीमा पनि समस्या भएको बताएपछि धनगढीस्थित मायमेट्रो अस्पतालमा पुर्याए ।
मायामेट्रो अस्पतालमा डाक्टर नै नभएपछि धनगढीमा भौतारिएका उनी सारथी अस्पतालमा पुगे । चारजना परिवारका साथ धनगढी पुगेका उनीहरु हाल सारथी अस्पतालमा उपचार गराई रहेका छन् । ‘डाक्टरले आज अपरेशन हुन्छ भन्नु भएको छ,’ उनले भने, ‘बाहिर बन्द छ । रकमको जोहो गर्ने उपाय पनि छैन । चाँडो उपचार भइदिए हुनेथियो ।’
हाल धनगढीमा सञ्चालित ११ वटा अस्पतालमध्ये सारथीबाहेक सबैले फाट्टफुट्ट आकस्मिक सेवाबाहेक बन्द गरेका छन् । मायामेट्रोले बुधबारदेखि आकस्मिक सेवा सुचारु गरको हो ।
कोरोना भाइरसको त्रास बढेसंगै निजी तथा सरकारी अस्पतालले ओपिडी सेवा बन्द गरेको छन् । धेरैजसो निजी अस्पतालमा विरामीलाई फर्काउने गरेको पाईएको छ । उनीहरुले ज्वरो, टाउको दुखेको, मौसमी रुघाखोकी जस्ता लक्षणमा समेत विरामीलाई फर्काउने गरेका छन् ।
अस्पताल सञ्चालकहरुका अनुसार चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मीहरु आफुहरु असुरक्षित रहेको भन्दै धेरैजसो विदामा बसेका छन् ।