सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले कात्तिक १४ मा करणी सम्बन्धी कसूरमा १० देखि १२ वर्ष जेल सजाय माग दाबी गर्दै अभियोग पत्र दर्ता गराएको थियो । त्यसमाथी मंगलबारदेखि भएको थुनछेक बहसपछी आज लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।
अदालतको आदेश अनुसार उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। थुनछेक बयानका क्रममा लामिछानेले जाहेरीकर्ताले ‘अरु कसैको उक्साहटमा आरोप लगाएको’ दाबी गरेका थिए ।