सखाप हुँदै डडेलधुरा सदरमुकामकै बन

सखाप हुँदै डडेलधुरा सदरमुकामकै बन

२१ माघ (डडेलधुरा)
पहिलो पटक डडेलधुरा पुग्ने धेरैले डडेलधुरा सदुमुकाम नजिकैको बन क्षेत्र देखेर प्रशंसा गर्दछन् । डडेलधुरा बजारको चारैतिर फैलिएको हरियाली र घना जंगलले सधैलाई मोहित तुल्याउँछ । तर पछिल्लो समय दुवै वन क्षेत्रमा व्यापक फँडानी भइरहेको छ । वर्षौं लगाएर संरक्षण भएको जंगलमा हुर्कन थालेका पोथ्रा र बुट्यानसमेत काटिएको छ ।
कटानी छेकानी (काँटछाँट) को नाममा ऋषिखोला सामुदायिक वन क्षेत्रभित्र लालीगुराँस लगायतका ठूला रुख कटानी हुन थालेको स्थानीय उपभोक्ताहरूले गुनासो गरेका छन् । हरि सार्कीले भने, ‘कटानी छेकानी गर्दा सुकेका, कमजोर र बांगाटिंगा हाँगा काट्नु पर्नेमा दैनिक ज्यालादारीमा मजदुर खटाएर हुर्कन थालेका नयाँ र ठूला रुखमात्र काटिएको छ ।’
‘सामुदायिक वनको कार्ययोजनाअनुसार वन संरक्षण तथा नयाँ पोथ्रालाई हुर्कन दिन यसरी कटानी छेकानी गरिन्छ,’ उनले भने, ‘त्यसैलाई निहुँ बनाएर संरक्षण भएको जंगल सखाप पार्न थालिएको छ ।’ जिल्ला वन कार्यालयसँगै जोडिएको सामुदायिक वनमा यसरी जथाभावी वन फडाँनी भइरहेको भन्दै उपभोक्ताले पटक–पटक जानकारी गराए पनि कसैले चासो नराखेको अर्का स्थानीय देवेन्द्र भट्टले गुनासो गरे । उनले भने, ‘जुन रुपमा फँडानी भइरहेको छ, यसले वनमा हुर्कंदै गरेका नयाँ बिरुवा नै समाप्त हुन थालेको छ ।’
०४८ अघि सदरमुकामको दुबैतर्फ उजाड थियो । बन कार्यालयसँगै जोडिएको ऋषिखोला सामुदयिक वनमा रुखका जरासमेत निकालेर सखाप बनाइएको थियो । सामुदायिक वन गठनपछि छोटो अवधिमै यो वन देशभर चर्चाको विषय बनेको थियो । सदरमुकाम पारिको महाभारत जंगल क्षेत्रको अवस्था पनि उस्तै थियो । यहाँ पनि संरक्षणका कार्य गरिएपछि वन क्षेत्र हराभरा बनेको थियो । सो वन क्षेत्र अहिले पुनः फडाँनी हुने क्रम सुरु भएको हो ।
डडेलधुरामा कुल भूभाग १ लाख ५३ हजार ८ सय हेक्टरमध्ये ७५ प्रतिशतभन्दा बढी क्षेत्र (१ लाख १५ हजार हेक्टर) जंगल छ । तर, पछिल्लो समय अतिक्रमण र फँडानीले वन क्षेत्र खुम्चँदै गएको छ ।