संशय र विश्वासका २४१ भेट

संशय र विश्वासका २४१ भेट

१५ माघ (काठमाडौँ)
प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न २०७४ माघ ५ गते विवादित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको ललितपुरस्थित घर पुगे । माओवादी केन्द्रको समर्थन पाएर दोस्रोपटक प्र्रधानमन्त्री भएपछि ओली र दाहालबीच भएको त्यो पहिलो भेट थियो । फागुन र चैतमा उनीहरूबीच त्यति धेरै भेटघाट भएन ।
२०७५ वैशाखयता भने सत्तारूढ नेकपाका यी दुई अध्यक्षबीच विभिन्न चरणमा २ सय ४१ पटक भेटवार्ता भएको रेकर्डले देखाउँछ । सबैभन्दा छोटो भेट एक घण्टा र लामो छलफल लगातार पाँच घण्टासम्म भएका छन् ।
पार्टी एक हुनुअघि बालुवाटारबाहिर र एकतापछि बालुवाटारमा घन्टौं लामो छलफल भए पनि दुई अध्यक्ष एकअर्कामाथि उति विश्वस्त देखिँदैनन् । किन त ? नेकपा सचिवालयका एक सदस्य भन्छन, ‘ओलीजीलाई दाहाल अलि चतुर हुनुहुन्छ जस्तो लाग्दो रहेछ, दाहाल पनि ओलीलाई अलि ट्रिकी खालको सोच्नुहुन्छ,’ ती सदस्यले भने, ‘त्यसकारण उहाँहरूबीच विश्वासको वातावरण बन्न नसकेको हो ।’
दुई अध्यक्षको दुई थरी स्वभावको असर पार्टीको तल्लो कमिटीसम्म परेको विश्लेषण नेकपाभित्र छ । एकतापछि संगठन निर्माण र एकीकरणको बाँकी काम सक्नेभन्दा पनि आफूलाई कसरी बलियो बनाउने भन्नेमै अध्यक्षद्वय केन्द्रित भएको बुझाइ स्थायी कमिटी सदस्य रघुजी पन्तको छ । ‘पार्टी कमिटीमा केही छलफल नहुने, अध्यक्षद्वय बसेर निर्णय गर्ने, त्यसलाई सचिवालयमा सुनाउने र स्थायी कमिटीमा छाप लगाउनेजस्तो भयो,’ उनले भने, ‘यसले पार्टी पंक्तिलाई अनुशासनहीन र नेतृत्वलाई केन्द्रीकृत बनायो ।’ दुई नेताबीच अविश्वास र छेडखानी भने पार्टी एकताको सुरुवातदेखि हुँदै आएको विश्लेषकहरू बताउँछन् ।
दाहाललाई एकै समयमा अनेक विषयबारे सोचिरहने ‘गतिशील’ नेताका रूपमा चिन्नेहरूको पंक्ति लामो छ । दुई वर्षअघि वाम गठबन्धनको सरकार बन्ने तयारी हुँदै गर्दा अध्यक्ष दाहाल केही दिन सरकार निर्माण प्रक्रियाको छलफलबाट ‘सिन आउट’ भए । त्यतिखेर दाहालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कांग्रेस सभापति शेरबहादुर देउवासित मिलेर कांग्रेस–माओवादीको सरकार बनाउने विषयमा छलफल चलाइरहेका थिए । ‘उहाँहरूबीच पाँचौं चरणसम्म कुराकानी भएको रहेछ,’ ओलीनिकट नेताले भने, ‘प्रचण्डजी एकै समयमा तमाम विकल्पबारे सोच्नुहुन्छ, त्यसकारण पनि अध्यक्षद्वय एकअर्कासँग भर पर्न सकिरहनुभएको छैन ।’
रहस्यमयी एकता
वाम गठबन्धन गरेर चुनाव जित्नु र त्यसपछि त्यही गठबन्धनको सरकार बनाउनु एमाले–माओवादीका तात्कालिक उद्देश्य थिए । ओली नेतृत्वमा सरकार बनिसकेपछि पार्टी एकीकरणका लागि व्यापक छलफल भए । सहमति भने पारदर्शी भएनन् । सुरुवाती छलफल पार्टीमा अध्यक्ष र सहअध्यक्ष राख्ने गरी भएको थियो । त्यसमा को अध्यक्ष र को सहअध्यक्ष बन्ने भन्नेमै सहमति नभएपछि नेतृत्वको मोडेल परिवर्तन भयो, दुई अध्यक्षको व्यवस्था गरियो ।
२०७५ जेठ ३ मा पार्टी एक भएको घोषणा हुनु केही अघिसम्म पनि अध्यक्षबाहेक अर्को पद नहुने भनिएको थियो तर आधा घण्टाअघि मात्रै अध्यक्ष ओलीले पार्टीमा महासचिवको समेत व्यवस्था गरिएको खबर सुनाए । एकीकृत पार्टीको विचार के हुने भन्नेमा नेतृत्व अलमलमै रह्यो । त्यसको असर नेकपामा पछिसम्म देखियो पनि । गत असारसम्मै पार्टीको राजनीतिक कार्य्दिशा जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्नेमा नेतृत्वबीच ठूलो विवाद भयो ।

अझ रहस्यमय त पार्टी एकताअघि सत्ता भागबन्डामा दुई अध्यक्षले गरेको पाँच बुँदे सहमति रह्यो, जसबारे पार्टी पंक्तिले निकै पछि मात्रै थाहा पायो । त्यसले नेकपा सचिवालय र सिंगो पार्टीमा समेत तरंग ल्यायो । अध्यक्षद्वयले भने सहमतिबारे पार्टीलाई औपचारिक जानकारी आजसम्म दिएका छैनन् । सबै विषयमा स्पष्ट नभएर ६०र४० को भागबन्डामा एकता गर्दा त्यसले अध्यक्षद्वय अप्ठ्यारोमा परेको विश्लेषक श्रेष्ठ बताउँछन् । एकताको स्पष्ट पृष्ठभूमि नभएकाले छलफलहरू उपलब्धिमूलक हुन नसकेको उनको ठम्याइ छ ।
गुट र व्यक्तिकेन्द्रित बार्गेनिङ
‘अहिलेसम्मका बैठक र छलफलबाट दुई अध्यक्षको स्वभाव स्पष्ट बुझिएको छ,’ नेकपाका अर्का सचिवालय सदस्य भन्छन्, ‘एकतापछि ओलीजी गुट र दाहालजी व्यक्तिका लागि लड्नुभयो ।’ नेकपा अध्यक्षद्वयले एकीकरण र जिम्मेवारी बाँडफाँटको भागबन्डा पनि यही हिसाबले मिलाए । भागबन्डाकै हिसाबकिताबमा कहिले ओलीले जिते, कहिले दाहालको पल्लाभारी भयो । नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पनि पार्टीमा शक्तिको खिचातानी स्पष्टै देखिएको स्विकार्छन् । ‘आफ्नो पक्षमा गुटहरू बनाउने, अनुकूलतामा लबिइङ गर्ने र त्यो आधारमा शक्ति प्रदर्शन गर्ने परिपाटी देखिन्छ,’ उनले भने, ‘तर दुवै अध्यक्ष गुटमा तानिनु हुँदैन ।’
पूर्वएमालेमा तीन र पूर्वमाओवादीमा तीन गरी नेकपामा ६ वटा गुट सक्रिय छन् । पूर्वएमालेमा स्वयं ओली र माधवकुमार नेपालको गुट प्रतिस्पर्धामा देखिन्छन् भने वरिष्ठ नेता झलनाथ खनालले पनि सानो गुट चलाएका छन् । पूर्वमाओवादीतिर अध्यक्ष दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापाका आ–आफ्नै गुट छन् । सचिवालयमै पनि गुटकेन्द्रित छलफल हुने भएकाले अध्यक्षहरूले धेरै विषय आपसी छलफलमै सल्टाएर ल्याउँछन् ।
दुई अध्यक्षका धेरै छलफल एकदमै लम्बेतान र अनुत्पादक हुने गरेको टिप्पणी नेताहरूको छ । नेकपा वृत्तमा ओलीलाई अव्यवस्थित र समयको ख्याल नगर्ने नेताका रूपमा चित्रण गरिन्छ । त्यसैले पनि दुई अध्यक्षको बसाइ कम्तीमा एक घण्टाभन्दा बढीको हुने गरेको टिप्पणी नेताहरूको छ । समय व्यवस्थापनमा ओलीको कमजोरी पार्टी सचिवालय र मन्त्रिपरिषद् बैठकमा समेत देखिन्छ ।
उचाल्ने–पछार्ने खेल
दुई वर्षमा दुवै अध्यक्षले शक्ति सन्तुलनको हिसाबकिताब र दौडधुप अत्यधिक गरे । आफू प्रधानमन्त्री र पहिलो वरीयताको अध्यक्ष भएपछि ओलीले केही समय सचिवालयका अरू सदस्यलाई पेल्न थालेका थिए । सरकार र पार्टीका काममा समेत ओलीको मनपरी चल्न थाल्यो भन्दै दाहाल झस्किए । ओली विश्व आर्थिक मञ्च (डावोस) को बैठकमा भाग लिन स्विट्जरल्यान्ड पुगेका बेला पोहोर माघ १० गते उनीविरुद्ध धोबीघाट भेला भयो । त्यसलाई भेलाका सदस्यहरू ‘ओलीको पेलानविरुद्धको बाध्यात्मक जुटाइ’ का रूपमा परिभाषित गर्छन् । त्यसले दाहाल र ओलीबीच गहिरो खाडल बन्यो । नेपाल दाहालसँग नजिकिँदै गए । वामदेव गौतम र खनाल पनि दाहाल गुटमा मिसिए । त्यो बेला ओली र दाहालको भेट पनि एकदमै पातलिएको थियो । उनीहरूले महिना दिनमा जम्मा सातपटक मात्रै भेटेका छन् ।
यसपछि ओली–दाहाल सम्बन्धमा झन् तिक्तता बढ्दै गयो । उनीहरूबीचको यो दूरी गत साउनसम्मै देखियो । त्यतिखेर दाहालले एकातिर प्रधानमन्त्री ओलीसँग निरन्तर भेट गरिरहेका थिए, अर्का्तिर नेपाल र गौतमको साथ लिएर सत्ता परिवर्तन गर्ने खेल पनि चलाइरहेका थिए । ‘अध्यक्ष प्रचण्डले माधव नेपाललाई तपाईं प्रधानमन्त्री बन्नुस्, म पार्टी चलाउँछु तर सरकार परिवर्तन गरौं भन्ने प्रस्ताव पनि गर्नुभएको थियो,’ नेपालनिकट नेताको भनाइ छ, ‘नेपालको जोड प्रधानमन्त्रीभन्दा पनि पार्टी अध्यक्ष बन्नेमै रहेकाले त्यो प्रस्तावमा घनीभूत छलफल हुन सकेन ।’
नेपाल स्वयंले पनि आफूनिकट नेताहरूसँग ओली सरकार स्वेच्छाचारी भएको टिप्पणी गर्दै सरकार परिवर्तनको सुझाव दाहाललाई दिएको बताउँदै आएका थिए । दाहालबारे नेपालको टिप्पणी उद्धृत गर्दै उनीनिकट स्रोत भन्छ, ‘तर प्रचण्डजी हामीसँग मात्रै ओलीबारे टिप्पणी गर्नुहुन्छ, उहाँका अगाडि बोल्नै डराउनुहुन्छ ।’ यही बेला दाहालले गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासनसमेत दिएका थिए । प्रधानमन्त्री बन्नकै लागि गौतम सुरुमा हुम्ला र पछि काठमाडौं–७ बाट चुनाव लड्ने तयारीमा समेत थिए । दाहालको साथ लिएर गौतमले बनाएको योजना ओलीले पूरा हुन दिएनन् । गौतम झन् रुष्ट भए । प्रधानमन्त्री तुरुन्तै फेर्नुपर्छ भन्ने आवाज यो गुटभित्र झन् बलियो बन्दै गयो ।
आफ्नाविरुद्ध सचिवालयको एउटा पंक्ति कटिबद्ध भएर लागेको छ भन्ने थाहा पाएपछि ओलीले सबैभन्दा पहिले त्यो गुट भंग गर्ने अस्त्रका रूपमा गौतमलाई प्रयोग गरे । उनले गौतमकै जन्मदिनको अवसर पारेर बालुवाटारमा लामो छलफल मात्रै गरेनन्, पार्टी उपाध्यक्ष बन्न र कास्की क्षेत्र २ बाट चुनाव लड्न प्रस्ताव पनि गरे । कास्कीबाट चुनाव जिते प्रधानमन्त्री बनाइदिने आश्वासन पनि गौतमलाई दिए । गौतम एकाएक प्रधानमन्त्रीतिर ढल्किएपछि दाहाल र नेपालसहितको गुट छिन्नभिन्न भयो । तर दुई अध्यक्षबीच अविश्वास यति विघ्न थियो कि, उपचारका लागि सिंगापुर पुगेका ओलीले गौतम र पार्टी महासचिव विष्णु पौडेललाई सिंगापुर नै बोलाइदिए ।
यो मौकामा नेकपाले पार्टी विभागमा नेतृत्व चयन गर्‍यो, एकताका बाँकी अरू काम सकिइसकेको थियो । अर्का नेता खनालको विश्वास जित्न प्रधानमन्त्री ओलीले वरीयताबारे उनको बक्यौता असन्तुष्टि हल गरिदिए । माधवकुमार नेपाल झन् एक्लिए । त्यो बेला अध्यक्ष दाहालमाथिको नेपालको भरोसा पनि उठेको थियो । तर आफूलाई हराउने प्रपञ्च भइरहेको छ भन्ने निष्कर्षसहित गौतम कास्की–२ बाट चुनाव उठ्न मानेनन् । दाहालले उनलाई राष्ट्रिय सभा सदस्य बनाएर भए पनि प्रधानमन्त्री बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि संविधानसमेत संशोधन गर्न उनी तयार भएको अभिव्यक्ति गौतमले सार्वजनिक रूपमै दिएका छन् । तर प्रधानमन्त्री ओलीले एउटा व्यक्तिका निम्ति संविधान संशोधन गर्न नसकिने जवाफ दिएपछि गौतम फेरि चिढिए ।
सभामुख चयनका विषयमा प्रधानमन्त्रीसँग रसाकस्सी चलिरहेका बेला दाहालले गौतम–ओली बिछोडिएको यो मौकालाई फेरि उपयोग गरे । गौतम निवास भैंसेपाटीमै धोबीघाट भेलाको पुनरावृत्ति भयो । ओलीविरुद्ध बनेको गठबन्धनले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने निचोड निकाल्यो । दाहालले गौतमलाई राष्ट्रपतिबाट मनोनयन गराएर भए पनि राष्ट्रिय सभा सदस्य बनाउने र संविधान संशोधन गर्ने विकल्प अझै बाँकी रहेको आश्वासन दिएका छन् । कान्तिपुरबाट