विपन्नलाई २५ हजार विवाह खर्च
२८ पुस (रौतहट)
२५ हजार रुपैयाँको चेक पाएपछि मौलापुर–६ की चैटीदेवी यादवले भनिन्, ‘अपनेके बहुत–बहुत धन्यबाद बा मेयर साहेबनी ।’ मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले उनलाई नगरका तर्फबाट आर्थिक सहयोग गरेकी हुन् ।
माघ २७ गते छोरीको बिहे गरिदिन लागेकी चैटीदेवीलाई यो रकमले ठूलै गर्जो टर्ने भएको छ । गत वर्षदेखि नगरले ‘असहायसित मेयर’ कार्यक्रम ल्याएर विपन्न समुदायलाई सहयोग गर्दै आएको छ । ‘घरको आर्थिक अवस्था कमजोर छ । नगरपालिकाको यो सहयोग पनि धेरै भयो,’ चैटीले भनिन्, ‘हामीजस्ता गरिब परिवारलाई धेरै भरथेग हुन्छ ।’
तराई–मधेसमा छोरीको विवाहमा दाइजो दिनैपर्ने सामाजिक बाध्यता छ । भोजभतेरमा पनि खर्च हुन्छ । विपन्न परिवारमा छोरीको विवाहमा आर्थिक संकट पर्ने हुँदा थोरै भए पनि रकम सहयोग गर्दै आएको मेयर साहले बताइन् । ‘विपन्न दलित र असहाय परिवारलाई राहत पुगोस् भनेर ‘असहायसित मेयर’ कार्यक्रम सञ्चालन गरी रकम सहयोग गरेका हौं,’ उनले भनिन्, ‘यसबाट धेरै विपन्न परिवारका मानिस खुसी छन् ।’ गत वर्ष पनि नगरक्षेत्रभित्रका १ सय १ दलित, विपन्न र असहायलाई छोरीको विवाहका लागि २५ हजारका दरले रकम बाँडिएको थियो । चालू आर्थिक वर्ष २७ जनाले रकम बुझेका छन् ।
गत वर्ष नगरपालिकाको कार्यपालिका बैठकले छोरीको विवाहमा समस्या भोग्दै आएका परिवारका लागि भनेर रकम छुट्याएको थियो । रकम अपुग भएपछि २७ जनालाई यस आर्थिक वर्षबाट भुक्तानी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकन्दर साहले बताए । ‘यो कार्यक्रम निकै प्रभावकारी भएको छ,’ उनले भने, ‘आर्थिक संकट परेकाहरूलाई थोरै भए पनि राहत पुगेको छ ।’ यस आर्थिक वर्षमा हालै सम्पन्न तेस्रो नगरसभाबाट ४० लाख रुपैयाँ छुट्याइएको उनले जानकारी दिए । नगरपालिकाले छोरीको विवाहमा समस्या परेकाहरूको निवेदन माग गर्छ ।
सहयोग पाउन विपन्न, दलित तथा असहाय व्यक्ति हुनुपर्छ । नगरपालिकामा परेको निवेदनमाथि छानबिन हुन्छ । त्यस क्रममा गाउँलेको सर्ज्मिन मुचुल्कासमेत लिने गरिएको छ । अन्त्यमा निवेदकको घरमा बिहे हुन लागेरनलागेको, उनीहरूलाई समस्या परे–नपरेको बुझेर वडा कार्यालयको सिफारिसमा रकम हस्तान्तरण हुँदै आएको छ । कान्तिपुरबाट