विद्यालयमा कम्प्युटर छ, सिकाउने शिक्षक छैनन्
२८ पुस (झापा)
कोठाभरि कम्प्युटर छन् । कुर्सीहरू असरल्ल । सबै धुलाम्य छन् । यस्तो दुरावस्था झापाकाे बाह्रदशी गाउँपालिका १ भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयको हो ।
शिक्षक अभावमा कम्प्युटरको प्रयोगात्मक सिकाई हुन सकेको छैन । नियमित पढाई नभएपछि ढोकामा दुइटा ताल्चा लगाएर कम्प्युटरहरू राखिएका छन् । कक्षा ५, ६, ७ र ८ का विद्यार्थीले कम्प्युटर विषय पढ्नुपर्छ । पाठ्यपुस्तक नै भएपनि विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक छैनन्् ।
कम्प्युटर चलाउनै नसिकेका शिक्षकहरूले पाठ्यक्रमको विषय भने जेनतेन पढाउने गरेका छन् । तर, ल्याबमा ल्याएर विद्यार्थीलाई कम्प्युटर सिकाउन भने सकिनरहेको प्रधानाध्यापकरामबहादुर बुढाथोकीले बताए । ‘विद्यार्थीले कम्प्युटर विषय पढ्नुपर्छ । तर, विद्यालयमा उक्त विषयमा शिक्षक छैनन्’ उनले भने,‘एकएक वटा कक्षामा हामी भएकै सरहरूले मिलेर पाठ्यपुस्तक चाहीँ पढाउने गरेका छौं । तर, कम्प्युटर खोलेर सिकाउन सकिरहेका छैनौं ।’
विद्यालयमा एउटा ल्यापटप र ३० वटा कम्प्युटर छन् । कम्प्युटर पढ्का लागि कुर्सी र टेबल पनि पर्याप्त छन् । विद्युत र इन्टरनेटको सुविधा समेत छ । तर, शिक्षक नहुँदा विद्यार्थीले कम्प्युटरको प्रयोगात्मक सिकाई सिक्न नपाएको शिक्षिका युवती राजवंशीले बताइन ।
वडा कार्यालय, गाउँपालिका कार्यालय तथा प्रदेश सरकारको आईसीटी कार्यक्रमअन्तर्गत विद्यालयले उक्त कम्प्युटर प्राप्त गरेको हो । गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन् । ती सबै विद्यालयमा कम्प्युटर विषय पढाउनका लागि गाउँपालिकाले तीन जना घुम्ती शिक्षक नियुक्त गरेको छ ।
घुम्ति शिक्षक हप्तामा त कहिले १५ दिनमा एक पटक आएर पढाउने गरेको प्रअ बुढाथोकीले बताए । ‘सबै स्कुलमा पालो गरेर आउदा कहिले हप्तामा आउनुहुन्छ । कहिले १५ दिनमा’ उनले भने,‘नियमित कक्षा नहुँदा विद्यार्थीले कम्प्युटर पढ्छन् भन्ने मात्र छ, कसैले पनि राम्ररी सिक्न पाएका छैनन् ।’
विषयगत शिक्षक नभएकाले विद्यार्थीले नियमित कम्प्युटर पढ्न र सिक्न नपाएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेलले बताए । ‘तीन जना शिक्षकले पालोगरी सबै विद्यालयका विद्यार्थीलाई कम्प्युटर सिकाउछन्’ पौडेलले भने,‘दरबन्दी नभएकाले विद्यालयमा कम्प्युटर शिक्षक नभएको हो । त्यसैले हामीले घुम्ति शिक्षकमार्फत भए पनि विद्यार्थीलाई कम्प्युटर पढाउने व्यवस्था मिलाएका हौं ।’
विद्यालयमा एकरएकजना कम्प्युटर शिक्षक राख्न गाउँपालिकासंग स्रोत नभएको पौडेलले बताए । उनले पाठ्यपुस्तक नै रहेकाले सरकारले विद्यालयमा कम्प्युटर विषयको शिक्षकको दरबन्दी दिनुपर्ने माग गरे । वडाध्यक्ष शम्भुसिंह राजवंशीले समेत विद्यालयमा शिक्षक दरबन्दी हुनुपर्नेमाग गरे ।
‘अहिलेको युगमा कम्प्युटर विषयको पढाईको महत्व धेरै छ । विद्यालयमा पर्याप्त कम्प्युटर भएर पनि विद्यार्थीले सिक्न र पढ्न नपाउनु यो भन्द दुखद् अवस्था अरु के हुन सक्छ ?’ उनले भने । विद्यालयमै नियमित कम्प्युटर विषय पढ्न र प्रयोगात्मक रुपमा सिक्न पाए सीमावर्ती ग्रामीण क्षेत्रका विद्यार्थी लाभान्वित हुने उनको भनाई छ । कान्तिपुरबाट