विद्यार्थीलाई जातीय पोसाक
४ चैत (सिन्धुली)
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीस्थित भगवती आवासीय माविले विद्यार्थीका लागि आफ्नै जातीय पोसाक लागू गरेको छ । विद्यालय तहदेखि नै संस्कृति झल्कने पोसाक लगाए समावेशीको सिद्धान्तलाई मलजल पुग्ने विद्यालयको बुझाई छ ।
‘विभिन्न मञ्चमा हामी प्रस्तुतिका लागि मात्रै बालबालिकालाई पस्कने गर्छौं तर विद्यालयमै पहिरनको व्यवस्था भएपछि उनीहरूमा आफ्नो संस्कृतिप्रति पनि चासो बढ्छ,’ प्रिन्सिपल कृष्ण उप्रेतीले भने, ‘आफ्नो भेषभूषाप्रतिको चासो र महत्त्व पनि यसले बुझाउन सघाउँछ ।’ एक महिनादेखि यसलाई लागू गरिएको उनले बताए ।
तामाङ भेषभूषामा सजिएर आएकी ६ कक्षामा अध्ययनरत अनिशा मोक्तान जातजातिको पहिरनले आफ्नो धर्म संस्कृतिप्रतिको मोह बढाउने बताउँछिन् । ‘हामी नेपाली हौं, नेपालका धर्म संस्कृतिको जगेर्ना गर्ने कर्तव्य पनि हाम्रै हो,’ उनले भनिन्, ‘जातिगत पहिरनले छुट्टै मौलिकता सिर्जना गरेको छ ।’
कक्षा १० का रमण परियार आफ्नो भेषभूषाप्रति गर्व रहेको बताउँछन् । उनी दौरा, सुरुवाल, कोट र टोपीमा सजिएर आएका थिए । अर्की छात्रा यमकुमारी भुजेल आफ्नो पहिरनमा आउन पाउँदा निकै खुसी देखिइन् । ‘ठूलाले कहिलेकाहीँ कार्यक्रम छ भनेर लगाएको देख्थ्यौं, अहिले त आफैंले पहिरन लगाउन पाइएको छ,’ उनले भनिन्।
महिनाको अन्तिम मंगलबार र शुक्रबार विद्यार्थीका लागि संस्कृति झल्कने मौलिक पोसाक लगाएर आउन विद्यालयले निर्देशन गरेको हो । अरू दिन भने विद्यालयको नियमित पोसाक नै लगाउनुपर्छ । अन्य दिन नेपाली बोले जरिवाना गर्ने विद्यालयले यो दुई दिन भने नेपाली भाषा बोल्न छुट दिएको छ । हाल सबैजसो विद्यार्थीले जातीय पोसाक लगाउने गरेको र शिक्षकहरूमा पनि बिस्तारै यसलाई लागू गराइने प्रिन्सिपल उप्रेतीले बताए ।