राजमार्गमा आयल निगमका २० पम्प राखिने

राजमार्गमा आयल निगमका २० पम्प राखिने

भाद्र ६, (काठमाडौँ)
आयल निगमले राजमार्गहरूमा आफैं पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । निगमले पहिलो चरणअन्तर्गत हुलाकी, महेन्द्र र मदन भण्डारी राजमार्गमा यस्ता पम्प बनाउने योजना बनाएको छ । सरकारको नीति तथा कार्यक्रमअन्तर्गत यी राजमार्गमा २० वटा पम्प निर्माण गरिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
‘आर्थिक वर्ष ०७७र७८ को नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा राज्यको उपस्थिति कायम गर्न र बजार नियमनमा सहजीकरण गर्न सुरक्षा निकायलगायतको सहभागितामा ट्यांकर, ट्रक खरिद गरी सञ्चालन गर्ने उल्लेख छ,’ उनले भने, ‘सोहीअनुसार यो वर्ष राजमार्गमा कम्तीमा २० वटा पम्प बनाउनेछौं ।’ पम्प निर्माणका लाागि जग्गा खरिदको गृहकार्य भइरहेको निगमले जनाएको छ । हाल भैरहवामा निगमको आफ्नै पेट्रोल पम्प छ । सामान्य अवस्थामा उक्त पम्पबाट डिजेल दैनिक १२ हजार र पेट्रोल करिब ६ हजार लिटर बिक्री हुने गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।
‘सरकारले निगमको पम्पलाई रुचाएका छन् । त्यसैले ठुल्ठूला सहरमा उपस्थिति जनाउनुपर्छ भन्ने मान्यताले नै पम्प खोल्ने योजना बनेको छ,’ उनले भने, ‘निगमको प्रावधानअनुसार नमुना र साधारण जुन पम्प खोले पनि हुन्छ । त्यसको सूचना निकाल्न पर्दैन ।’ अत्यावश्यक वस्तुमा निगमको उपस्थिति हुनु त्यो अन्ततः राज्यकै उपस्थिति रहेको उनले दाबी गरे ।
निगमले नेपालगन्जका लागि भने टेन्डर आह्वान गरिसकेको छ । नेपालगन्जमा निगमको आफ्नै करिब १० कठ्ठा जग्गा छ । उक्त क्षेत्रमा पनि पम्प खोल्ने योजनाअनुसार टेन्डर गरिएको हो । ‘टेन्डर आह्वान गरेको करिब दुई महिना भयो । कसलाई बनाउन दिने भन्नेमा अध्ययन भइराखेको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘काम अन्तिम चरणमा छ । निर्माणको काम छिट्टै सुरु हुन्छ ।’ उनका अनुसार नेपालगन्जमा नमुना पेट्रोल पम्प बनाइनेछ ।