यस्तो छ तयारी
७ चैत (काठमाडौँ)
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । अस्पतालका शय्या, आईसीयू, भेन्टिलेटर, व्यक्तिगत सुरक्षा उपकरण तयारी अवस्थामा राख्न मन्त्रालयले भनेको छ ।
स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म प्रसूति बिदा, किरिया बिदाबाहेक अन्य बिदा नलिन मन्त्रालयले परिपत्र जारीगरिसकेको छ ।‘मन्त्रालयअन्तर्गत करिब ३० हजार स्वास्थ्यकर्मी छन्,’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘संघ, प्रदेश, स्थानीयका कर्मचारीलाई परिआएमा जुनसुकै ठाउँमा खटाइनेछ ।’
उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन र क्वारेन्टाइनका लागि एक हजार शय्या छुट्याइएको उनले बताए । त्यस्तै भेन्टिलेटरसहितको १२० शय्या आईसीयूको समेत व्यवस्था गर्न लागिएको छ । यस्तै सातै प्रदेशमा ११५ शय्याको आईसीयू निर्माण गर्न लागिएको छ ।
कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि मन्त्रालयसँग ६ सय सेट व्यक्तिगत सुरक्षा उपकरण मन्त्रालयसँग तयारी अवस्थामा रहेको उनले जानकारी दिए । स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने ३० हजार सेट सुरक्षा कवच खरिद गर्न शुक्रबार टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ ।
‘यसमा संक्रमण हुन नदिन टाउकादेखि खुट्टासम्म लगाइने सुरक्षा कबच छन्,’ स्वास्थ्य मन्त्रालय, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले भने, ‘टोपी, चस्मा, फेस शिल्ड, गाउन, ‘एन ९५ मास्क’, पन्जा, सु–कभर र गम बुट यसभित्र पर्छन् ।’ मुलुकमा विद्यमान कानुनले आकस्मिक समयमा अत्यावश्यक सामग्री किन्नसहज नहुने भए पनि जसरी पनि आपूर्तिको व्यवस्था मिलाइनेउनले बताए ।