मैनालीद्धारा केन्यामा रक्तदान : मन्त्रीद्धारा सम्मान

मैनालीद्धारा केन्यामा रक्तदान : मन्त्रीद्धारा सम्मान

२६ भदौ, केन्या
रक्तदाता अर्जुनप्रशाद मैनालीले पछिल्लो पटक अर्को अफ्रिकी देश केन्या पुगेर रगत दान गरेका छन् । रगत नपाएर विरामीहरुले अकालमा ज्यान गुमाइरहेका विभिन्न अफ्रिकी देशहरुमा पुगेर यसअघि पनि रगत दान गर्दै आएका मैनालीले बुधबार (सेप्टेम्बर ११ तारिख) केन्या पुगेर आफुले रगत दान मात्र गरेनन्, त्यहाँका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु र सर्वसाधारणलाई पनि रक्तदानप्रति उत्प्रेरणा जगाउने विभिन्न कार्यक्रमहरु गरेका छन् ।
उनी अमेरिकादेखि १५ घण्टा लगातार यात्रा गरेर १२ हजार किलोमिटर दुरीमा रहेको केन्या पुगेका हुन् । मैनालीकै अगुवाईमा केन्यामा सञ्चालन भएको रक्तदान उत्प्रेरणा र रक्तदान कार्यक्रमको उद्घाटन गर्दै त्यहाँका स्वास्थ्य मन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली करीउकीले गरेकी थिइन् । उनले केन्यामा वार्षिक १० लाख यूनिट रगत आवश्यक रहेको जानकारी गराउँदै हाल करिब एक लाख ७० हजार यूनिटमात्रै उपलब्ध हुने गरेको बताइन् ।
रगत अभावका कारण भोग्नु परेको कठिनाइकाबीच विख्यात रक्तदाता मैनाली रक्तदान गर्नकै लागि न्यूयोर्कबाट केन्या पुग्नुले केन्या सरकार र यहाँका नागरिकका लागि हौषला प्राप्त भएको बताए । ‘मैनालीको अनुभवले र सेवाभावले केन्याली जनताहरुलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु’ उनले भनिन् ।
केन्याको रक्तसञ्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले रक्तदाता मैनाली रक्तदान गर्नकै लागि न्युयोर्कदेखि केन्या आउने जानकारी पाएपछि सरकारी अधिकारीहरुले पनि विशेष चासो राखेका थिए । मैनालीलाई मन्त्रीले आफ्नै कार्यकक्षमा आमन्त्रण गरेर प्रशंसा पत्रसहित सम्मान गरेकी थिइन् । रक्तदान कार्यक्रम सञ्चालनमा संलग्न केन्याली उच्च अहोदाका सरकारी अधिकारीहरुले पनि मैनालीको प्रशंसा गर्नुका साथै सम्मान ब्यक्त गरेका थिए ।
केन्यामा पुगेर रक्तदान गर्न पाएकोमा मैनालीले पनि खुसी ब्यक्त गरे । उनले हालसम्म १ सय ७२ पटक रक्तदान गरेर ५ सय १६ जनासम्मलाइ बचाउन सहयोग पुग्ने रगत दान गरेको रक्तदान कार्यक्रममा उपस्थितहरुलाई सुनाए । मैनालीले भने ‘अब अरुलाई बचाउन तपाइको पालो आएको छ । रक्तदान गर्दा शरिरमा कुनै कमजोरी हुदैन ।’
अफ्रिकामा हरेक वर्ष करिब ६ लाख गर्भवती तथा सुत्केरी महिलाहरुको अत्यधिक रक्तश्राव हुँदा रगत नपाएर मृत्यु हुने गरेको तथ्यांक छ । रगतको यस्तो समस्या जानकारी पाएपछि विश्वका विभिन्न देशहरुमा रक्तदान उत्प्रेरण अभियान सञ्चालन गर्दै आएका उनी पछिल्लोपटक केन्या पुगेका हुन् । ३ दिनसम्म सञ्चालन हुने उक्त रक्तदान कार्यक्रममा पहिलो दिनमै करिब ५ सय जनाले रक्तदान गरेका थिए ।