मुसर्रफमाथिको फैसला रद्द

मुसर्रफमाथिको फैसला रद्द

२९ पुस (काठमाण्डौं)
पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्टाएको छ । विशेष अदालतको कानुनी प्रक्रियालाई असंवैधानिक भन्दै लाहोरस्थित उच्च अदालतले सोमबार मुसर्रफमाथिको सजाय बदर गरेको हो । १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।
‘मुसर्रफविरुद्ध गरिएको उजुरी, अदालतको गठन, अभियोजनकर्ताको छनोटलगायतका कानुनी प्रक्रिया सबै अवैध छन्,’ उच्च अदालतले भनेको छ । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । फैसलाले विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । उच्च न्यायालयको फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावी हुनेछ ।
जनरल मुसर्रफले सन् १९९९ मा कु गरेर तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई सत्ताच्युत गरी सत्ता आफ्नो हातमा लिएका थिए । उनी सन् २००१ देखि सन् २००८ सम्म राष्ट्रपति बनेका थिए ।
यसै महिनाको सुरुमा उनले अस्पतालको बेडबाट एउटा भिडियो वक्तव्य जारी गर्दै आफूमाथिको मुद्दा आधारहीन भएको बताएका थिए । बिबिसीका अनुसार मुसर्रफमाथिको मुद्दाको सुनुवाई अर्को अदालतमा पनि हुन सक्छ ।