माघे संक्रान्तिमा गोरु जुँधाइँ
१ माघ (नुवाकोट)
नुवाकोट तारुकाका किसान मदन श्रेष्ठ रत्नेले गोरुको स्याहार गरेर राखेका छन् । ठूलो जुरो भएको रत्नेले मैदानमा अरूलाई पछार्नेमा उनी ढुक्क छन् । त्यसैले त अण्डा, तेल र चामल भिजाएर राम्रो स्याहार गर्छन् मदन, गोरुलाई । आफ्नो गोरुले माघे संक्रान्तिको दिन भिड्दा हार्यो भने उनको मन कम्ता दुख्दैन । त्यसैले मेलाको तयारी अघि किसानहरू गोरुको हेरचाह र जुधाईको पूर्वतयारीमै व्यस्त हुन्छन् ।
मदनको मात्रै होइन नुवाकोट तारुकाका अधिकांश किसानहरू जुधाइने गोरुको स्याहारमै व्यस्त छन् । हरेक वर्ष माघेसंक्रान्तिमा नुवाकोटको तारुकामा मनाइने गोरु जुधाई मेलाको तयारीले गाउँ रंगिएको छ । घर–घरमा अजंगका बहर गोरु छन् भने टोलटोलमा जितहारको अड्कलबाजीमा सुरु भएको छ । तारुका बेहुलीझै सिगारिएको छ । बाटामा स्वागत गेट बनिसकेका छन् ।
जुधाइने गोरुको जोडी बनिसकेको छ भने मेला समिति पर्यटन वर्षको स्वागतमा जुर्मुराएको छ । यस वर्ष पर्यटन वर्ष–२०२० पनि तारुकावासीमा लागेको देखिन्छ । बझांगी राजा जयपृथ्वी बहादुरसिंहको पालादेखि चलिआएको वर्ष जोगाउन किसानहरू मरिमेटेर लागेका छन् । मेलालाई पर्यटन वर्षको रूपमा मनाउन स्थानीय तारकेश्वर गाउँपालिका नेपाल पर्यटन बोर्डसमेत लागेको छ ।
काठमाडौंबाट ६५ किलोमिटरको दूरीमा रहेको तारुका मेलाका लागि स्थानीय तहले होमस्टेको समेत व्यवस्था गरेको छ । तारुका चन्दनीमा करिब ४० घरमा सुविधासम्पन्न होमस्टे छ । स्थानीय होटलहरूमा गाउँले परिकार चाख्न पाइन्छ । मेलामा स्थानीय मगर झाँकी तामाङ झाँकी स्थानीय बालन भजन र स्थानीय परिकारसमेत राखिने रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारीले बताए । साप्ताहिकबाट