भुसको आगो जस्तो भित्र–भित्रै सल्कदैछ कोरोनाको संक्रमण ?
डा. वालकृष्ण शाह
२० जेठ (काठमाण्डौं)
कसलाई, कसरी, कहाँ, कुन माध्यामबाट कोरोनाको संक्रमण भइरहेको छ भनेर भेउ पनि पाउन गाह्रो भइरहेको छ । अहिले एकपछि अर्को संक्रमितको दर बढ्दै जाँदा यसले निकै भयानक नतिजातर्फ संकेत गरिरहेको छ । यी घटनाहरुले मूलत तीन कुरा बताउँछ ।
१. कोरोनाको संक्रमित यत्रतत्र छन् । हामीले परीक्षण नगरेकोले नदेखिएको मात्रै हो । परीक्षण गर्दै जाँदा धेरैलाई संक्रमण भएको हुन सक्छ ।
२. थ्रोट स्वाब लिँदा सावधानी अपनाए पनि क्वारेन्टाइनका व्यक्तिहरुमा कोरोना हुन सक्छ र त्यसबाट जोगिन सुरक्षा सामग्री प्रयोग नगरेको र कोरानाको काममा पठाउँदा पनि स्वास्थ्यकर्मीहरुको सुरक्षा र सावधानीमा कमी ।
३. शंकास्पद बिमारी कसरी पठाउने, बिमारीको स्क्रिनिङ कसरी गर्ने बारेमा उपयुक्त ज्ञानको कमी ।
कोरोनाको संभावित संक्रमणबाट बच्न भन्दै हामीले लकडाउन ग¥यौं । यस क्रममा धेरैको रोजीरोटी गुम्यो । धेरै बेरोजगार भए । शहरमा बाँच्न नसक्ने भएपछि मजदुरहरु हिँड्दै गाउँ फर्किए । सर्वसाधरणले आफ्नो कामधन्दा छाडेर घरभित्रै बसे । सबैले आ आफ्नै हिसाबले कष्ट र अप्ठ्यारा झेलिरहेका छन् । तर, यत्तिका अवधि घरभित्रै बसेको वा लकडाउन गरेको के अर्थ छ ?
लकडाउनमा न सुरक्षा सामग्री भित्र्याउन सफल भयौ न त यस्ता संक्रमितको सम्भावना रहेकाहरुको स्क्रिनिङ र उपचारका लागि कुनै रणनीति नै तय गर्न सकियो । यसबीचमा फोहोरी राजनीतिक सर्कस जारी रह्यो । तर, जन स्वास्थ्यसँग जोडिएको र विश्व महामारीले छोप्दै गरेको अवस्थामा हामी त्यती सर्तक, सावधान र संवेदनशिल भएनौं, जति हुनुपर्ने थियो । हामीसँग भएका स्रोत र साधन एवं जनशक्तिको समुचित परिचालन गरेर कसरी यो महामारीबाट रक्षात्मक ठाउँमा उभिने भन्ने सोचिएन । यसले भोलिका दिनमा भयानक संकट पो झेल्नुपर्ने हो कि ? आशंका जन्माएको छ ।
अब के गर्न सकिन्छ ?
१. परिस्थिति असहज छ, हाम्रो श्रोत र साधन सीमित छ । एकातिर आवश्यक श्रोत जोगाउनु र जुटाउनुपर्नेछ, अर्को्तिर सुरक्षित ढंगले चुस्त सेवा दिनुपर्नेछ । यसका लागि विज्ञहरुसँग परामर्श गरेर यथासिघ्र रणनीति तय गर्नुपर्नेछ ।
२. स्क्रिनिङ र रिफरल पद्धतिमा व्यापक सुधार गर्नुपर्नेछ । यसमा एकरुपता हुनु पर्छ ।
३. उपचार केन्द्र बर्गिकरण गर्नुपर्छ । स्थान, क्षमता, सुबिधा र आवश्यक्ता अनुसार भएको उपचार केन्द्रहरु परिचालन गर्नु पर्छ । सबै अस्पताल एकै समयमा खुल्दा एकै पटक धेरै अस्पताल बन्द पनि हुन सक्छ । त्यसैले यसलाई आवश्यक छलफल र योजनाका साथ तयार गर्नुपर्ने हुन्छ ।
–यदि हामी सोच्छौं १५ दिनको वा १ महिनाको लकडाउन पछि कोरोना सकिन्छ भने हामी गलत छौ ।
–यदि हामी सोच्छौं क्वारेन्टाइनमा कोरोनालाई कैद गर्न सक्छौ भने हामी गलत छौ ।
– यदि हामीलाई लाग्दछ, हामी घर भित्र बस्न सक्यौं भने कोरोना भित्रिदैन यो पनि गलत साबित हुन सक्छ ।
–यदि हामीलाई लाग्छ हामी सुरक्षित छौ, यो पनि गलत हुन सक्छ ।
–सल्लाह गरौ, छलफल गरौ, निकास खोजौ । समझदारी अपनाउनु पर्नेछ, लकडाउनले मात्र समाधान हुँदैन ।