भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने डीआईजी सहितका ५ प्रहरी पुरस्कृत
धनगढीः भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसहितका ५ प्रहरी पुरस्कृत भएका छन्।
प्रहरी प्रधान कार्यालयले घटनास्थल पुगेर घटनाको सफल अनुसन्धान गरेको भन्दै प्रहरी नायब महानिरीक्षक सुवेदीसहितका प्रहरीलाई अभिलेखमा जनाउनेगरि नगदसहित पुरस्कृत गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए।
पुरस्कृत हुने अन्य प्रहरीमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरबन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेको उनले बताए।
सोही घटनामा खटिएका प्रहरी सहायक निरीक्षक पदम थापा र प्रहरी जवान नरबहादुर थापाको एक तह बढुवा गरेको छ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको शव बलात्कारपछि हत्या गरेको अवस्थामा भोलिपल्ट स्थानीय लबलेक सामुदायिक वनमा फेला परेको थियो।
बलात्कारपछि हत्या अभियोगमा उनका भाई नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।