बैतडी एयरपोर्ट पीच
४ चैत (बैतडी)
बैतडीको पाटनमा रहेको विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो । विमानस्थल कालोपत्रे भए पनि बैतडीमा कहिलेदेखि हवाई सेवा सुरु हुन्छ भन्ने ठेगान छैन । विमानस्थलको टर्मिनल भवन निर्माणको काम सुरु नभएकोले तत्काल विमानस्थल सञ्चालनमा आउने छैन । टर्मिनल भवन, पर्खाल र नाली निर्माण गर्नुपर्नेछ । धावनमार्ग कालोपत्रे भए पनि तत्काल नियमित रुपमा विमान उड्ने सम्भावना नरहेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत एवम् पाटन विमानस्थल निर्माण आयोजनाका प्रमुख इन्जिनियर कविन्द्र बज्राचार्यले बताए । ‘मोबाइल टावर राखेर अस्थायी रुपमा विमान उडाउन भने मिल्छ,’ उनले भने । विमानस्थलमा केही दिनमै परीक्षण उडान गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
२०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ बाट कच्ची धावनमार्गमै विमानको उडान–अवतरण सुरु भएको थियो । २०५२ मा विमानस्थल बन्द हुनपुग्यो । २०५८ मा तत्कालीन विद्रोही माओवादीले आगो लगाएर विमानस्थलको टावर ध्वस्त बनाएको थियो ।
०७५ को असारमा सक्नेगरी कालोपत्र गर्ने काम सुरु भए पनि डेढ वर्षभन्दा बढी समय लगाउँदै आयोजना सम्पन्न भएको हो । विमानस्थल कालोपत्रे गर्न ११ करोड २१ लाखमा सम्झौता भएको थियो ।