बालुवाटारमा ‘रअ’ प्रमुखलाई स्वागत, कालापानीमा भारतीय फौजको परेड
७ कार्तिक (काठमाण्डौं)
छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया सामन्तकुमार गोयल बुधबार राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका थिए, मध्यराति १२ः१० मा बाहिरिए ।
राष्ट्रियताको विषयमा नेपाल र भारतबीच कूटनीतिक र राजनीतिक वार्ताको प्रतीक्षा भइरहेको वेला अचानक गुप्तचर प्रमुखको ‘इन्ट्री’ले देशभक्त नेपालीको मन कुँडिएको छ । नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग संवाद गर्नुपर्नेमा भारतको जासुसी संस्थाका प्रमुख सीधै नेपाल आएर प्रधानमन्त्रीसँग मध्यरातसम्म वार्ता गरेका छन् । यसले कूटनीतिक मर्यादा र देशको स्वाभिमान ध्वस्त बनाएको भन्दै सत्तापक्ष र प्रतिपक्षका नेताहरूले कडा विरोध जनाएका छन् ।
प्रधानमन्त्री केपी ओली र ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताको योजना दुई साता अगाडिबाट भएको स्रोतको दाबी छ । स्रोतका अनुसार दुई साताअघि ‘रअ’का डेपुटी प्रमुख नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेका थिए । उनी पनि प्रधानमन्त्रीकै चाहनामा नेपाल आएका थिए । भेटमा प्रधानमन्त्री ओलीले ‘तपाईंको प्रमुखसँग भेट्न चाहन्छु’ भन्ने प्रस्ताव गरेका थिए । उनले दिल्ली गएर यसबारे थप छलफल गर्ने बताएका थिए । नेपालका प्रधामन्त्रीले नै भेट्न चाहेका छन् भनेपछि ‘रअ’ प्रमुख वायुसेनाको जहाज चढेर दलबलसहित काठमाडौं आएका हुन् ।
छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ (रअ)का प्रमुख सामन्तकुमार गोयलको टोली बुधबार नेपाल आएको थियो । भारतीय वायुसेनाको ‘आइएफसी ४६२०’ उडानबाट बुधबार अपराह्न १ बजे काठमाडौं अवरण गरेका गोयललाई राति सवा ९ बजे बालुवाटारमा स्वागत गरिएको थियो ।
राति ९ः१५ मा बालुवाटारको गेटभित्र प्रवेश गरेका गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए । भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलको रूपमा दर्ज भएको छ ।
गुप्तचर संस्थाका प्रमुखले नेपालमा गुप्तचर वा अन्य सुरक्षा अंगका प्रमुखलाई भेट्नु अस्वाभाविक होइन । तर, उनी यसपालि सीधै नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न आएका हुन् । यो विषयमा मिडियामा समाचार प्रसार भएपछि प्रधानमन्त्री ओलीको सचिवालयले भेटको पुष्टि गर्दै प्रेस नोट जारी गरेको छ ।
‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार आउनुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा विहिबार जारी नोटमा भनिएको छ, ‘भेटका क्रममा उहाँले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।’
छिमेकी भारतले नेपालको सिमाना अतिक्रमण गरेकोमा नेपाली राष्ट्रियता उद्वेलित छ । नेपालको भूगोल फिर्ता गर्न र भारतसँग आत्मसम्मानपूर्ण संवाद अपरिहार्य छ । तर, त्यसका लागि नेपालका प्रधानमन्त्रीले आफ्ना समकक्षीसँग वार्ता गर्ने हो कि गुप्तचर प्रमुखसँग ? यो विषयमा मिडिया र प्रतिपक्षले मात्र होइन, सत्तापक्षका नेताहरूले पनि प्रश्न उठाएका छन् ।
भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको थियो । उनीहरू बिहीबार बिहान दिल्ली फर्केका छन् । छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलसँग वार्ता गरेकोमा कूटनीतिक मामलाका जानकारहरूले अस्वाभाविक मानेका छन् ।
तीन पूर्वप्रधानमन्त्रीले भने– ‘रअ’ प्रमुखसँग भेटवार्ता भएको छैन
तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता नभएको स्पष्ट पारेका छन् । प्रचण्ड र नेपालको सचिवालयले प्रेस नोट तथा देउवाको सचिवालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएर ‘रअ’ प्रमुखसँग भेटवार्ता नभएको बताएका छन् ।
प्रचण्डका सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आमजनसमुदाय तथा सञ्चार जगत्लाई भ्रममा नपर्न अपिल गर्दछु ।’
त्यस्तै, वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले पनि विज्ञप्तिमार्फत भ्रममा नपर्न अनुरोध गरेका छन् । ‘पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र ‘रअ’का प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चारमाध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यसप्रकारका समाचारबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ,’ गौतमको विज्ञप्तिमा छ ।
उता, कांग्रेस सभापति देउवाको सचिवालयले पनि ‘रअ’का प्रमुख गोयलसँग देउवाको भेटवार्ता नभएको स्पष्ट पारेको छ । देउवाका स्वकीय सचिव भानु देउवाले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री देउवासँग गोयलको भेटवार्ता भएको खबर कपोलकल्पित र निराधार भएको बताए ।
‘रअ’ प्रमुखलाई प्रधानमन्त्रीले जुन शैली र समयमा भेट्नुभयो, देशको स्वाधीनताविपरीत छ ः डा. भीम रावल
नेपाल र भारतबीच लिम्पियाधुरा, कालापानी, लिपुलेकका सन्दर्भमा मतभेद भइरहेको र भारतसँग सचिवस्तरमा वा मन्त्रीस्तरमा वार्ता गरौँ, आफ्ना मत राखौँ भनिरहेको र भारतले त्यसलाई स्वीकार नगरिरहेको अवस्थामा कायमै छ । यही वेला भारतीय गुप्तचर संस्था रअ प्रमुखलाई जुन शैली, समयमा नेपाल ल्याइयो, बोलाइयो र प्रधानमन्त्रीले राति लामो वार्ता गर्नुभयो । यो हामीले संविधान निर्माण गर्दा नेपालको संविधानमा अंकित गरेको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानको विपरीत छ ।
सरकारको नेतृत्व गरेको नेकपाको नीति, विचार, मान्यताको विपरीत छ । कूटनीतिक मर्यादा विपरीत छ । विगतमा विभिन्न बाह्य गुप्तचर संस्थाले हाम्रो देशमा चलखेल गरे, हामीले धेरै दुःख पायौँ । संविधान निर्माण गर्दा पनि हाम्रो देशमा नाकाबन्दी लगाएको थियो । नेताहरूको घरघर गएर भारतीय सरकारका मानिसले दबाब दिएका थिए । यी सबै चटक्कै बिर्सेर अहिले फेरि त्यसको पुनरावृत्ति गर्ने किसिमको व्यवहार हुनु अन्यन्तै दुःखलाग्दो हो ।
र, यसलाई राजनीतिक दलहरूले, तिनका नेताहरू, संसद्, बुद्धिजीवी र सञ्चारकर्मी सबैले अत्यन्तै गम्भीर रूपमा लिनुपर्छ । तेस्रो देशले उक्साएर नक्सा जारी ग¥यो भन्ने भारतीय सेनाका प्रमुखलाई नेपाल बोलाएर मानार्थ महारथीको सम्मान गर्ने तयारी हुँदै गर्दा ठीक त्यसको अगाडि गुप्तचर संस्थाका प्रमुखलाई बोलाएर देशको कार्यकारी प्रमुखले राज्यका सञ्चालनका परिपाटी, कूटनीतिक मर्यादा, स्वाभिमान, कुनै पनि कुराको मतलब नराखेर राति लामो भेटघाट गर्ने अत्यन्तै चिन्ताको विषय हो ।
भेटले दक्षिणी छिमेकीको परम्परागत प्रभाव बाँकी नै छ भन्ने पुष्टि गरिदियो ः राम कार्की
अन्तर्राष्ट्रिय कूटनीतिमा एउटा देशको प्रधानमन्त्रीले छिमेकी देशको कर्मचारीसँग भेट गरेको कुरा सुन्दा पनि अस्वाभाविक नै लाग्छ । तर, हामीकहाँ जसको शक्ति उसैको भक्ति गर्ने चलन पनि छ, जस्तै कि अमेरिकाको विदेश सहायकमन्त्री आउँदा राष्ट्रपति नै अघि सर्ने ।
तथापि, कर्मचारीलाई कर्मचारीस्तरकै स्वागत र भेटघाट राम्रो हो । फेरि अहिले भूमि मिचेको र नेपालले जारी गरेको नयाँ नक्साले पनि एउटा राष्ट्रवादको बहस चलिरहेको छ । यो वेलामा प्रधानमन्त्रीले नै नभेटिदिएको भए राम्रो सन्देश जान्थ्यो । अब नेपाल पुरानो नेपाल रहेन, नेपालले पनि सन्तुलित विदेश नीति अपनाएको छ भन्ने सन्देश जाने थियो । तर, यो भेटघाटले दक्षिणी छिमेकीको परम्परागत प्रभाव बाँकी नै छ भन्ने पुष्टि गरिदिएको छ ।
अर्को कुरा, अहिले हाम्रा लागि सन्तुलनको विदेश नीति अख्तियार गर्ने असाध्यै अनुकूल समय हो । खासगरी हिजो उत्तरी छिमेकी चीनको अवस्था कमजोर हुँदा हामी स्वाभाविक रूपमा दक्षिणतिर नजिकिन बाध्य भयौँ । तर, अहिले परिस्थिति फेरिएको छ । भारत र चीन दुवै विश्व राजनीतिमा आफ्नो हिस्सा खोजिरहेका राष्ट्र हुन् । त्यसैले अहिले दुवै छिमेकी बलियो भएको अवस्थामा सन्तुलन कायम गर्नुपर्ने अनुकूल छ । तर, यो भेटले त्यस्तो देखाउँदैन ।
भेटले प्रधानमन्त्रीमाथि नै शंका उत्पन्न गरेको छ ः डा. नारायण खड्का
दुई देशबीचमा खासै उपलब्धिमूलक वार्ता भइरहेको अवस्था छैन । प्रधानमन्त्रीले एकचोटि भारतको स्वतन्त्रता दिवसका अवसरमा १५ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिँदा टेलिफोनमा सामान्य कुराकानी भए पनि त्यसले औपचारिक वार्ताको ढोका खोलिरहेको थिएन ।
अहिले अचानक भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्रीलाई दुई घन्टा भेटेको भन्ने आएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार आएको भए पनि प्रधानमन्त्रीको एउटा प्रतिनिधि भएर आएको भन्ने हुन्थ्यो । तर, रअ प्रमुख आएर प्रधानमन्त्रीलाई भेटेको भन्ने सुन्दाचाहिँ यो प्रधानमन्त्रीको प्रोटोकल, स्तर, मर्यादा, कूटनीतिक हिसाबले पनि ‘एप्रोप्रियट’ होइन ।
यसले प्रधानमन्त्रीमाथि नै शंका उत्पन्न गरेको छ । पशुपतिको दर्शन गर्न आएको भए पनि, त्यतिवेला शिष्टाचार भेट गर्ने भन्ने कुरा बेग्लै हो । तर, उहाँदेखि जहाज लिएर आएर अरू कार्यक्रमविनै प्रधानमन्त्रीसँग दुई घन्टा बस्ने भनेकोचाहिँ हाम्रो प्रधानमन्त्रीका लागि मर्यादित र उचित हो जस्तो लाग्दैन ।
कताकता आफ्नो समकक्षी जसरी भेटघाट हुने भनेकोचाहिँ ‘डिप्लोमेटिक’ हुँदैन । हाम्रो अनुसन्धानको चिफलाई प्रधानमन्त्री मोदीजी भेट्नुहुन्छ ? पक्कै भेट्नुहुन्न । हाम्रा प्रधानमन्त्रीले पनि बरु उनकै समकक्षीसँग भेट गराइदिएको भए हुन्थ्यो । नयाँ पत्रिकाबाट