बहुमतबाटै छिनोफानो गर्ने मुडमा प्रचण्ड र नेपाल
२१ साउन (काठमाण्डौं)
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चरम व्यक्तिवाद लादेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताहरू यतिबेला एक ठाउँमा उभिएका छन् ।
सबैको एउटै मत छ ( प्रधानमन्त्री ओलीमा वैचारिक स्खलन मात्र होइन, राजनीतिक भ्रष्टीकरण पनि हाबी भयो ।
गत फागुमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णयलाई ओलीले चुनौती दिएपछि नेकपाभित्र कलहको बीजारोपण भएको थियो । त्यसयता अध्यादेश, विवादित नियुक्ति, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार लगायतका धेरै विवादास्पद कामहरू सरकारले गरेको भन्दै कलह बिस्तारै संकटमा रुपान्तरण भयो ।
व्यक्तिले पार्टी चलाउने कि पार्टीले व्यक्ति चलाउने भन्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरूले निरन्तर प्रश्न गर्दै आइरहेका छन् ।
बुधवार केही सञ्चारकर्मीहरूलाई बोलाएर तिनै चार नेताले पार्टीभित्रको संकट पदीय भागबण्डाले निम्त्याएको नभई ओलीको चरम व्यक्तिवादी प्रवृत्तिले निम्त्याएको सन्देश दिन खोजे ।
घुमाउरो पारामा नेकपाभित्रको विवादको छिनोफानो अब बहुमतबाट नै हुने सन्देश शीर्ष चार नेताहरूले दिएका छन् ।
’पार्टी मार्क्सवाद लेनिनवादलाई आधार मानेर अघि बढ्ने कि बुर्जुवा मान्यतालाई लिएर अघि बढ्ने भन्ने द्वन्द्वमा पार्टी फसेको छ,’ अनौपचारिक भनिएको उक्त कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ’व्यक्तिले निर्णय गर्ने र समूहले जिम्मेवारी लिनुपर्ने विडम्बनापूर्ण परिस्थिति सिर्जना भएको छ । अहिले पार्टीभित्र देखिएको संघर्ष यही कारण निम्तिएको हो ।’
प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसीलाई पनि जोड्न खोजेका थिए । ’एमसीसी सम्झौता गर्दा नवउदारवादी अर्थतन्त्रलाई आत्मसात गर्नुपर्ने मान्यता कहीं न कहीं रहेको देखिन्छ,’ अहिले हाम्रो संघर्ष भनेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि हो । परिस्थिति फेरिएको छ । हामी नवउदारवादी अर्थतन्त्रका हिमायती होइनौं ।’
अध्यक्ष प्रचण्डले ओलीले पार्टीलाई पद प्राप्तिको भरयाङ बनाएको आरोपसमेत लगाए । ’पद पाइयो, अब जे गरेपनि हुन्छ भन्ने खालको मानसिकता देखियो अर्का अध्यक्षमा,’ उनले भने, ’व्यक्तिगत अहम् देखियो । सँगै राखेको कुर्ची हटाउँदा मजा आउने खालको मानसिकता पनि देखियो । कुर्ची हटाउने काम प्राविधिक मात्र थिएन, त्यसमा अनौठो चरित्र पनि लुकेको छ, अपमान गर्दा आनन्दको अनुभूति गर्ने प्रवृत्ति तपाईंहरू सबैले देख्नुभएको छ ।’
वरिष्ठ नेता झलनाथ खनालले स्थायी कमिटीलाई हुल्लडबाज र केन्द्रीय कमिटीलाई सडकछाप भनेको भन्दै ओलीको आलोचना गरे । अधिकांश समय ओलीको आलोचना गरेका वरिष्ठ नेता खनालले हालै लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्ति गरेकोमा पनि आपत्ति जनाएका थिए ।
’पुरानो संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्थ्यो,’ खनालले भने, ’अहिले हामी पुरानो संसदीय व्यवस्थामा छैनौं । अहिले पार्टीले सरकारलाई निर्देशित गर्छ । पार्टीको निर्णय लागू हुनुपर्छ । ओलीले पार्टीलाई सत्तामा पुग्ने भर्याङ बनाए ।’
उनले ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर आफूहरू लागेको तर त्यो सफल नभएको बताए । ’मदन भण्डारी फाउन्डेसनका नाममा राष्ट्रव्यापी रूपमा एउटा गुटको कार्यक्रमहरू अघि बढिरहेको छ,’ उनले भने, ’एउटा पक्षलाई आलोचना गर्ने, राष्ट्रघाती देखाउने काम भयो, यो स्वीकार्य हुन सक्दैन ।’
अर्का वरिष्ठ नेता माधवकुमार नेपालले बैठकबाट डराउने नेता र पानीबाट डराउने किसानको काम नभएको भन्दै अध्यक्ष ओलीको आलोचना गरे ।
उनले पार्टी विधानको धारा ६० सबैले स्पष्टसँग पढ्न सक्ने गरी लेखिएको बताए । ’कस्तो बेलैमा बुद्धि पुरयाइएछ,’ उनले भने, ’विधानमा बहुमतले निर्णय गरेर अघि बढ्न सकिने व्यवस्था छ । धारा ६० आँखा कमजोर भएकाले पनि पढ्न सक्छ ।’
नेता नेपालले आफ्नो भूमिकालाई कमजोर बनाएर अघि बढ्न खोजे नराम्रो हुने चेतावनी पनि दिएका थिए ।
बैठक राख्न नै तयार नहुने ओलीको आलोचना गर्दै नेता नेपालले भने, ’पोलिटब्यूरो बनेकै छैन, नामले नै तर्सिने स्थिति आएको छ । स्थायी कमिटी तर्साउने भूत बनेको छ । बैठकको नाम लियो कि राति निद पनि नलाग्ने । के भएको हो यस्तो ?’
उनले आफैं पार्टी र आफैं राज्य हो जस्तो गरेर प्रवृत्ति देखाएको भन्दै ओलीको आलोचनासमेत गरे ।
प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले मार्क्सवादलाई ट्रेडमार्क बनाएर अघि बढ्न खोजेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गरेका थिए ।
’मार्क्सवाद’लाई ट्रेडमार्क बनाएर स्वेच्छाचारी ढंगले अघि बढ्ने खालको प्रवृत्ति केपी ओलीमा देखियो,’ अनौपचारिक भनिएको उक्त छलफलमा प्रवक्ता श्रेष्ठले शुरूआतमै भनेका थिए, ’चरित्र पनि मार्क्सवादी बन्नुपर्ने थियो, तर विडम्बना, त्यो देखिएन ।’
जनादेश, घोषणापत्र र राजनीतिक दस्तावेजलाई हेर्दा अहिले सरकारले गरिरहेको काम सन्तोषजनक नदेखिएको उनको टिप्पणी थियो ।
अबको चुनावमा नेकपा जनतासमक्ष जाने स्थिति पनि नबन्ने भन्दै श्रेष्ठलगायत अन्य शीर्ष नेताहरूले पनि चिन्ता व्यक्त गरेका थिए । ’विधि, पद्धति शून्य भयो, पार्टी निष्क्रिय र अकर्मण्य भयो र सरकार दिशाहीन भयो,’ प्रवक्ता श्रेष्ठले भने, ’पार्टीमा वैचारिक स्खलन मात्र देखिएन, भ्रष्टीकरणतर्फ गयो ।’
पछिल्लो विवाद समाधानका निम्ति दुईवटा मुख्य विकल्प प्रवक्ता श्रेष्ठले दिएका थिए । पहिलो नकारात्मक प्रवृत्तिका पात्रहरूलाई आत्मालोचना गराएर रुपान्तरण गर्ने र दोस्रो नकारात्मक प्रवृत्ति भएका पात्रहरूलाई विस्थापन गरेर सकारात्मक प्रवृत्तिका पात्रहरूलाई भूमिकामा स्थापित गर्ने ।
श्रेष्ठकै भाषामा गत मंसिर ४ गतेदेखि वैशाख २० गतेसम्म पहिलो विकल्प प्रयोग गरिएको थियो । मंसिर ४ गते अध्यक्षद्वय ओली र प्रचण्डबीच कार्यविभाजन गरेर ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री चलाउन दिने र प्रचण्डले पार्टीको कार्यकारी अधिकार लिने सहमति भएको थियो ।
गत वैशाख २० गते बसेको सचिवालय बैठकमा पनि आत्मालोचना गरेर प्रवृत्तिगत सुधार गर्दै अघि जाने विषय आएको थियो । तर त्यसपछि पनि ओली रुपान्तरित हुन नचाहेको विश्लेषण आफूहरूले गरेको प्रवक्ता श्रेष्ठले बताए ।
पार्टीभित्र सकारात्मक प्रवृत्तिका पात्रहरूलाई स्थापित गर्ने प्रक्रियाका लागि कमिटी बैठकहरू आवश्यक हुने र त्यसका लागि पनि ओली नकारात्मक भूमिकामा देखिएको ओलीइतर समूहको निष्कर्ष छ । मुख्यत राजीनामा मागिनु दोस्रो विकल्प रहेको प्रवक्ता श्रेष्ठले घुमाउरो भाषामा बताए ।