बजेट खर्चै गर्न सकिरहेको छैन प्रदेश सरकार

बजेट खर्चै गर्न सकिरहेको छैन प्रदेश सरकार

सुदीप थापा, ०५ माघ (धनगढी)
सुदूरपश्चिम प्रदेश सरकारद्धारा विनियोजित बजेट खर्चृको अवस्था निरासाजनक रहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १०.१८ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गराएको जानकारी अनुसार पुस मसान्तसम्म २ अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ । यो बर्ष कूल बजेट २८ अर्ब १६ करोड २० लाख ३५ हजार छ । यस अवधिमा चालुतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार (१०.०९ प्रतिशत) बजेट खर्च भएको जनाइएको छ । पुँजीगततर्फ एक अर्ब ३४ करोड ५२ लाख ९३ हजार (१०.०३ प्रतिशत) बजेट खर्च भएको मन्त्रालयले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भने चालु आर्थिक वर्षको बजेट खर्च र राजस्व संकलन प्रगति उत्साहजनक रहेको बताएका छन् ।
सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४० करोड सात लाख ९३ हजार रुपैयाँ राजस्व स.कलन गरेको जनाएको छ । राजस्व संकलनको लक्ष्य ८८ करोड ६४ लाख ७२ हजार रहेको छ । हालसम्मको खर्चमध्ये प्रदेशसभा सचिवालयले ५ करोड ४२ लाख २७ हजार रुपैयाँ (३४.६० प्रतिशत), मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन करोड ७९ लाख २२ हजार (३.४० प्रतिशत) बजेट खर्च गरेको छ ।
यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई करोड ५० लाख ८१ हजार रुपैयाँ (५.२५ प्रतिशत), उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २५ करोड ३३ लाख सात हजार रुपैयाँ (१०.९७ प्रतिशत) बजेट खर्च गरेको छ । यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २३ करोड दुई लाख दुई हजार रुपैयाँ (८.२० प्रतिशत), आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीन करोड ८७ लाख ५७ हजार रुपैयाँ (१३.५४ प्रतिशत) बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ । यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयले एक अर्ब ३६ लाख ५१ करोड ७१ हजार रुपैयाँ (१४.५३ प्रतिशत), सामाजिक विकास मन्त्रालयले ६२ करोड २८ लाख ६४ हजार रुपैयाँ (१३.२४ प्रतिशत) बजेट खर्च गरेको छ ।