प्रधानमन्त्री फेर्न नहुने पक्षमा बादल
२३ असार (काठमाण्डौं)
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताएपछि पछिल्ला दिनमा उनी प्रधानमन्त्री ओलीको वहिर्गमन अभियानमा सामेल भएर प्रचण्ड नेपाल कित्तामा गनिएका थिए । तर मंगलबार उनको बोली फेरिएको छ । बादलले अहिलेको अवस्थामा सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तन गर्ने कुरा पार्टी एकताको भावना र मर्मविपरीत प्रतिक्रान्ति हुने धारणा राखेको सार्वजनिक भएको छ ।
राष्ट्रिय सभाका नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदसँगको मंगलबारको भेटमा पार्टीभित्र अन्तरविरोध चुलिँदै जाँदा गृहमन्त्री बादलले त्यस सन्दर्भमा आफ्नो पछिल्लो ‘पोजिसन’ स्पष्ट पारेका हुन् ।
अहिलेको अवस्थामा प्रमुख सचेतक भट्टराईले बताए । ‘अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्नु भनेको प्रतिक्रान्तिलाई निम्त्याउनु हो, अहिले सरकार गिराउनुहुँदैन, पार्टी नेतृत्व पनि परिवर्तन हुँदैन,’ भेटमा गृहमन्त्री बादलको भनाइ उद्धृत गर्दै भट्टराईले नयाँ पत्रिकासँग भने, ‘पार्टीभित्र गम्भीर आन्तरिक समस्या छ, तर यसको समाधान भनेको गत २० वैशाखमा सचिवालयले जे निर्णय गरेको छ, त्यही निर्णय कार्यान्वयन गरेर जाने र सहमतिहरूलाई स्पष्ट पार्ने कुरा नै हो, कसैलाई निषेध गरेर समाधान सम्भव छैन भन्ने उहाँको धेरै स्पष्ट धारणा रहेछ ।’
उनले बादलले त्यही विचार आफूले स्थायी कमिटीमा राख्ने जानकारी गराएको पनि बताए ।
‘हामीले पार्टी विभाजन हुनुभएन, एकता सुदृढ गरेर विभाजन रोक्न तपाईंले निर्णायक भूमिका खेल्नुपरÞ्यो भन्ने आग्रहका लागि भेटर्वार्ता गरेका हौँ, तर उहाँले त्यसका लागि आफूले पहल लिने र आफ्नो विचार स्थायी समितिमा प्रस्टसँग राख्ने पनि जानकारी गराउनुभएको छ,’ भट्टराईले भने, ‘उहाँले झम्सिखेल बैठक र अध्यक्ष प्रचण्डले छलफलका लागि बोलाउँदा जाने गरे पनि पार्टीभित्रका गुटहरूले आफ्ना विषयमा आफ्नो सहजताअनुसार कुप्रचार गर्ने गरेको भनाइसमेत राख्नुभएको छ ।’
यद्यपि, गत १६ असारमा झम्सिखेलको एक रेस्टुरेन्टमा आयोजित अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ३० नेताहरूको भेलामा भने बादल पनि सहभागी थिए । त्यसयता उनी अध्यक्ष प्रचण्डनिवास खुमलटारमा हुने ६ जना बहुमत सचिवालय सदस्यहरूको छलफलमा पनि निरन्तर सहभागी हुँदै आएका छन् ।
‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन, उपलब्धि जोगाउन अहिलेको नेतृत्वबाट सम्भव छैन, बदल्नुपर्छ,’ झम्सिखेल भेलामा बादलको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले नयाँ पत्रिकासँग भनेका थिए, ‘अहिलेको लडाइँ गुटबन्दीका विरुद्ध पार्टी, प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको हो, यो हासिल गर्न पार्टी र सरकारमा नयाँ नेतृत्व चाहियो ।’
भेटमा भट्टराईसहित राष्ट्रिय सभामा प्रधानमन्त्री केपी ओलीनिकट सांसदहरू सुमनराज प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति ल्वार सहभागी थिए । भट्टराईसहितको टोलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि भेटेर विभाजन रोक्ने पहलका लागि अगुवाइ गर्न आग्रह गर्ने तयारी गरेको छ ।
२० वैशाखको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली, त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले पार्टी र सरकार सञ्चालनका क्रममा अहिलेसम्मका कमजोरीबारे आत्मालोचना गरेपछि अबदेखि विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यता र पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस निर्णयसँगै नेकपाको शीर्ष तहको विवाद तत्कालका लागि मत्थर भएको थियो ।
त्यस्तै, बैठकले पार्टीको आन्तरिक जीवनमा देखापरेका संकटहरूलाई समाधान गरी एकताबद्ध भएर पार्टी एकताको पक्षमा दृढ रहने र पार्टी एकतालाई कमजोर पार्ने र फुटउन्मुख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिने निर्णय गरेको थियो । बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय पनि लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए । १७ वैशाखमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीका रूपमा उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेका थिए ।