प्रधानमन्त्रीको त्यो साँझ अनि ‘क्षमाप्रार्थी’ शब्द

प्रधानमन्त्रीको त्यो साँझ अनि ‘क्षमाप्रार्थी’ शब्द

न कसैले बलिङ गरिरहनेछन्, न त प्रधानमन्त्रीले धुँवादार ब्याटिङ गर्नुपर्ने छ ।

२२ माघ (धनगढी)
रात छिप्पिनै थालेकाे थियाे । जब प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आफ्नो ट्वीटर ह्याण्डलबाट एउटा गज्जबको तस्विर सार्वजनिक गरे । क्षणभरमा हजारौंले त्यो तस्विर सेयर गरे । अनेकौ टिप्पणी र प्रतिक्रिया पनि लेखे । त्यसक्रममा देभान्स नामका एकजना ट्वीटरले त ‘रोम जलिरहेको थियो, निरो बासुरी बजाइ रहेथे । कालापानी, लिपुलेक लिम्पुयाधारा भारतले नक्सामा थप्दै थियो डियर केपी कमरेड बासुरी र सारङ्गीमा मस्त देखिए’ लेखे । धेरैका प्रतिक्रिया यस्तैयस्तै आशयमा आए । कतिले प्रष्टै लेखे, कतिले घुमाउराे ।
दुई तीन दिनयता प्रधानमन्त्री ओली अलि फरक रुपमा प्रस्तुत भएको उनका गतिविधिले देखाइरहेको छ । अघिल्लो दिन आफ्नो दलका सांसद र नेताहरुका भब्य भोज आयोजना गरे । मंगलबार अपरान्ह्र पुरा तीन घण्टा सम्पादकहरुसंग अन्तरक्रिया गरे । त्यसपछि ‘सुरु भयो बाँसुरी साँझ’ । जहाँ बरिष्ट नेताहरु नेपाल र खनालले वरिपरि सारंङ्गी रेटे । बीचैमा बसेर प्रधानमन्त्रीले बाँसुरीको बजाए ।
अक्सर झटोरो हान्ने प्रधानमन्त्री ओलीले मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा सायद पहिलोपटक ‘क्षमाप्राथी’ शब्द निकाले । उनले भने, ‘मैले बोलेका कुनै कुराले तपाईहरुलाई बिझाएको छ भने क्षमाप्रार्थी छु ।’
प्रधानमन्त्री ओली किन यस अवस्थामा आइपुगे त ? पछिल्लो समय उनले मिडियाप्रति निकै असन्तुष्टि ब्यक्त गर्दै आए । ‘मिडियाले असहयोग गर्यो, सारा भताभुंग मिडियाकै कारण भयो’ भन्ने उनको बुझाई यतिबेला पनि छदैछ । त्यसैले उनले मिडियालाई ‘तर्साउने र फकाउने’ रणनीति अवलम्वन गरिरहेका हुन् सायद ।
तर प्रधानमन्त्री ओलीमा भ्रम छ । उनी बुझिरहेका वा चाहिरहेका के छन् र यथार्थमा भइरहेको चै के छ ? यसको स्वतन्त्र विष्लेषण र सूचनाको ग्याप देखिन्छ कताकता उनमा । ओलीको विगतलाई प्रशंसा नगर्ने कमै होलान् । प्रजातन्त्र प्राप्तिका लागि उनले भोगेका ती कठोर सजाय, हालसालैको कुरामा पनि यसभन्दा अगाडीको कार्यकालमा भारतीय नाकबन्दीका बेला उनले लिएको अडानको प्रशंसा र वाहीवाही नगर्ने को थियो र ? सायद त्यसैले त यत्रो जनमत पाएको हो उनको नेतृत्वले ।
एउटा कुरा चै पक्का । इतिहासमै अहिलेको जस्तो सहज अवस्था यसअघिका सरकारलाई थिएन । अहिले उनले चाहेको कुरा गर्न सक्ने अवस्था छ वा रोकटोक हुने अवस्था छैन । त्यही भएर जनताले फटाफट विकास चाहेका हुन् । सुशासन अर्थात उनीबाट भ्रष्टाचारका घटनामा निर्मम व्यवहार चाहेका हुन् । तर आशा गरिएको त्यो छाँट नदेखिएपछि निरासा अवस्य बढेको हो । अहिले त बेथिती सरकारभित्र र बाहिर झनै झांगियो । यति हुँदाहुदै पनि ओलीमा जुन दृढ इच्छाशक्ति छ, काम गर्ने समय पनि छ त्यसअनुसार नतिजामूखि काम गर्नुपर्यो । त्यसपछि कसैसंग हारगुहार गर्नै पर्दैन । अर्थात त्यस्तो अवस्थामा न कसैले बलिङ गरिरहनेछन्, न त प्रधानमन्त्रीले धुवाधार व्याटिङ गर्नुपर्ने छ ।