प्रदेश ३ को नाम ‘बाग्मती’ र राजधानी ‘हेटौंडा’

प्रदेश ३ को नाम ‘बाग्मती’ र राजधानी ‘हेटौंडा’

२७ पुस (काठमाण्डौं)
प्रदेश नम्बर ३ को नाम बाग्मती राखिएको छ । प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव प्रदेश सभाबाट आइतवार सर्वसम्मतरूपमा पारित भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ८ र विपक्षमा ० मत प‍रेको थियो ।
१ सय १० सदस्यीय प्रदेश सभामा १ सय ८ सांसद मतदानमा सहभागी भएका थिए । प्रदेशको नामाकरण र राजधानी तोक्ने सवालमा सतापक्ष(प्रतिपक्ष एकजुट भए ।
यसअघि प्रदेशको स्थायी राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको थियो ।
मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेलले राखेको उक्त प्रस्तावको पक्षमा १ सय ५ मत प‍रेको हो । विपक्षमा जम्मा ३ सांसदले मतदान गरे । १ सय १० सदस्यीय प्रदेश सभामा १ सय ८ सांसद मतदानमा सहभागी भएका थिए ।
प्रमुख सत्तारुढ दल नेकपा केन्द्रीय सचिवालयको निर्देशन र प्रदेश संसदीय दलको निर्णयबमोजिम पौडेलले प्रदेशको स्थायी राजधानी हेटौंडा राख्ने प्रस्ताव दर्ता गराएका थिए ।
यसअघि गण्डकी, कर्णाली र सुदूरपश्चिमले नामाकरण र राजधानी तोक्ने काम सम्पन्न गरिसकेका छन् । प्रदेश १, २ र ५ ले भने अझै पनि नामाकरण गर्ने काम र राजधानीको टुंगो लगाउन सकेका छैनन् ।