पेले भन्छन्- म्याराडोना र म एकदिन आकाशमा सँगै फुटबल खेल्ने छौं
विश्वका महान् फुटबलर डिएगो म्याराडोनाको निधन भएपछि अहिले विश्व फुटबल स्तब्ध छ। ख्यातीप्राप्त फुटबल खेलाडी, राजनितिज्ञ, सेलिब्रेटी लगायतले दु:ख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन्।
ब्राजिलका महान् फुटबलर पेलेले पनि म्याराडोनाको निधनको खबरले स्तब्ध भएको जनाएका छन्।
उनले सामाजिक सञ्जालमा दु:ख व्यक्त गर्दै लेखेका छन्, ‘मैले एक महान् साथी गुमाए र विश्वले एक महान् हस्ती गुमायो। अहिलेलाई यति भन्न चाहान्छु कि उनका परिवारलाई भगवानले सहने शक्ति दिउन्। एक दिन हामी आकाशमा सँगै फुटबल खेल्ने छौं।’
पेले र म्याराडोना दुवैलाई विश्व फुटबलका महान् खेलाडीका रूपमा लिने गरिन्छ। गत महिना पेलेले आफ्नो ८०औं र म्याराडोनाले ६० औं जन्मदिन मनाएका थिए।
गत अक्टोबर ३० मा म्याराडोनाको जन्मदिनको अवसरमा पेलेले शुभकामना व्यक्त गर्दै लेखेका थिए, ‘आफू र अरुको मुस्कानका लागि लामो यात्राको शुभेच्छा।’
म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार हृदयघातका कारण निधन भएको हो।
अर्जेन्टिनाका पूर्वखेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो।