पुण्य तिथिमा शैक्षिक सामग्री वितरण
सुदीप थापा, ६ पुस (धनगढी)
धनगढी मित्रनगरका विशाल हमालको १५औँ दिनको पुण्य तिथिको अवसर पारेर ऐश्वर्यका विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विशालका बुबा कर्ण बहादुर हमाल र आमा ईश्वरी देवी हमालले ऐश्वर्या विद्या निकेतनमा कक्षा ९ को ‘ए’ सेक्सनमा अध्ययनरत विद्यार्थीहरुलाइ घरमै बोलाएर समान्यज्ञान लगायतका शैक्षिक सामग्री र खाजा खर्च हस्तान्तरण गरेका हुन् ।
सोही अवसरमा नेकपाका नेता महेश्वर पाठकले समाजमा यस्ता घट्ना न्यूनिकरण गर्न सबैले लाग्नु पर्ने बताए । त्यस्तै श्रद्धाञ्जली कार्यक्रममा नेकपाका नेता रण बहादुर चन्द, पूर्व जिल्ला शिक्षा अधिकारी शिवराज उप्रेती, धनगढी उप महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बल बहादुर ऐर, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐर लगायतले विशालको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए .
विशालको सम्झनामा उनका बवा कर्ण बहादुर हमालले कक्षा ८ उत्तीर्ण गरेको विद्यालय कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीमा एक लाखको अक्षयकोष स्थापन गरेका छन् । साथै विशालले कक्षा ७ सम्म अध्ययन गरेको पहलमानपुरको कलम बम मेमोरियल इङ्गलिस स्कुलमा प्रत्येक वर्ष कक्षा ८ प्रथम हुने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने पनि घोषणा गरिसकेका छन् ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मित्रनगरका १५ वर्षीय विशालको गत मंसिर २२ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनले आफ्नो पढाइको कारण आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।
