पाँच हजार मारेको जिम्मा लिन्छु- प्रचण्ड

पाँच हजार मारेको जिम्मा लिन्छु- प्रचण्ड

०१ माघ (काठमाण्डौ)
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धमा तत्कालीन माओवादीले १७ हजार मारेको कुरा सत्य नभएको बताएका छन् । बुधबार माघीको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘मलाई ताकेर साथीहरुले धेरै कुरा राख्नु भएको छ । ति सबै कुराको जवाफ दिन सक्दिन । म तथ्यांक मात्र सच्याउन चाहन्छु । मैले १७ हजार मान्छे मारेर आएको तथ्यांक भन्ने गरिन्छ । साथीहरु यो सत्य होइन । यो सत्य होइन’, प्रचण्डले भने, ‘सत्य के हो भने हिजोको सामन्ती राजाहरुले १२ हजार मारेका हुन् । मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म जिम्मा लिन्छु । तर राजाले मारेको १२ हजारको कुरा नहुने ? राज्यले मारेको पनि मेरै टाउँकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन ।’
प्रचण्डले युद्धमा भएका राम्रा र नराम्रा कामको जिम्मेवारी लिने प्रष्ट पारे । ‘युद्धको म जिम्मा लिन्छु। त्यहाँ भएका राम्रा र नराम्रा कामको म जिम्मेवार छु। म त्यहाँ भएका कामबाट भाग्ने काम हुँदैन’, उनले भने ‘तर नगरेको काम पनि मलाई नै थुपार्ने काम नगर्नुहोस् ।’