पहिचान पाउँदाको खुसीयाली
एलएन चाेकमा दिपावली
सुदीप थापा, २३ माघ (धनगढी)
कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएको रानाथारु समुदायलाई अलग्गै पहिचान दिएको खुसीयालीमा धनगढीको एलचोकमा त्यस समूदायका व्यक्तिहरुले विहिबार साँझ दिपावली गरेर खुसीयाली मनाएका छन् ।
यसै २० गते बसेको मन्त्रिपरिषद्को बैठकले रानाथारू समुदायलाई छुट्टै पहिचान दिने निर्णय लिएको हो । यहाँ यस समूदायको करिब साढे ३ लाख जनसंख्या रहेको छ । दुई दशक लामो संघर्षपछि अहिलेको सरकारले रानाथारु समुदायलाई आदिवासी जनजातिका रूपमा अलग्गै पहिचान दिने निर्णय गरेको कैलाली क्षेत्र नम्बर ५ का नेकपाका सांसद नारदमुनि रानाथारुले बताए । अब यो समूदाय अलग्गै पहिचानसहितक आदिवासी जनजातिमा सूचीकृत भएको हो । ‘२०५६ सालदेखि गर्दै आएको माग पुरा भएकोमा खुसी लागेको सांसद रानाले बताए । सरकारले यसअघि ५९ वटा आदिवासी जनजाति सूचीकृत गरेको छ । रानाथारु थपिएपछि नेपालमा ६० वटा आदिवासी जनजाति पुगेका छन । एलएन चोकमा गरिएको दिपावलीमा प्रदेशसभा सदस्य मालमती कुमारी रानालगायतको उपस्थिती रहेको थियो । २०६८ को जनगणनामा थारु समुदाय कूल जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० रहेको छ। जसमा रानाथारुको संख्या ६ दशमलव ६ प्रतिशत रहेको अनुमान छ ।





