पर्यटन विकासका लागि छुट्टै कार्यालय
२ मंसिर(धनगढी)
पर्यटन क्षेत्रको विकासका योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार धनगढीमा बेग्लै कार्यालय स्थापना गरेको छ । मन्त्रालय मातहत रहनेगरि प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय इकाईको विधिवत रुपमा उद्घाटन गरिएको हो । एक कार्यक्रमकाबीच प्रदेश सचिव डा. दिपक खरालले इकाई कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालय स्थापना भएपछि पर्यटन प्रर्वद्धन तथा विकासका लागि विनियोजित चालु आर्थिक बर्षका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वय गर्न सहज हुने इर्का प्रमुख किशोर अर्यालले बताए । कार्यालय उद्घाटन गर्दै प्रदेश सचिव डा. खरालले मन्त्रालयले यस प्रदेशमा रहेको प्रचुर पर्यटन सम्भावनालाई उपयोग गर्न प्राथमिकता दिएको बताए । उनले भने, ‘अहिले प्राकृतिक, धार्मिक, सास्कृृतिक र कृषि पर्यटनको जमाना हो । सुदूरपश्चिममा चारवटै विधामा पर्यटन विकासको प्रचुर सम्भावना छ’ डा. खरालले भने ‘पर्यटन क्षेत्रको विकासगरि यस प्रदेशको समृद्धिको मुख्य आधार स्थापित गर्नुको विकल्प छैन ।’
इकाई स्थापनापछि गत बर्षको अनुभवलाई आत्मसात गर्दै चालु आर्थिक बर्षका योजनाहरुको प्रभावकारी तथा गुणस्तीय कार्यान्वयन गर्न इकाई सफल हुने मन्त्रालयका सुचना अधिकारी भोजराज पाठकले बताए । इकाई कार्यालयमा प्राविधिकसहित १६ जना कर्मचारी कार्यरत रहेका छन् । मन्त्रालयले यस अघि भ्रमण बर्ष २०२० लाई लक्षितगरि पर्यटन प्रवद्र्धन समिति प्रदेश समन्वय समिति गठन गरिसकेको छ ।