नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग

नेकपा विवादः पाँच विकल्पमा छलफल गर्दै आयोग

काठमाडौँ, ६ फाल्गुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ ।

प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच देखिएको पार्टी आधिकारिकता विवाद झनै पेचिलो बन्दै गएपछि आयोगले विभिन्न पाँच विकल्पमा छलफल थालेको एक आयुक्तले बताए । उनले आगामी वैशाख १७ र २७ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन कार्यक्रमलाई समेत ध्यान दिँदै छलफल अघि बढाइएको जानकारी दिए ।

आयोगले अघि सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिकता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत आयोगभित्र बलियो छ । यसअनुसार पुस ५ गते प्रतिनिधिसभा विघटनसँगै नेकपामा विवाद प्रारम्भ भएको हुनाले माघ २० गते दाहाल–नेपाल पक्षले गरेको आधिकारिकता दाबी पनि हदम्याद समाप्त भएपछि आएको देखिएकाले केही गर्नुनपर्ने मत छ । ‘दुवै पक्षले विवाद प्रारम्भ पुस ५ गते भएको भन्ने स्विकारिसक्नुभएको छ, ३० दिनभित्र आधिकारिकता दाबी गरिसक्नुपर्ने व्यवस्था पनि कानुनमै छ, त्यसकारण हदम्याद समाप्त भएपछि गरिएको दाबीको कुनै कानुनी अस्तित्व हुँदैन, हामी हेर्दैनौं भन्ने मत बलियो छ,’ एक आयुक्तले भने, ‘अहिले आयोगमा छलफलमा आएको पहिलो विकल्प यही हो ।’ यो खबर आजको नागरिक दैनिकमा छ ।