नेकपा बैठकमा अष्टलक्ष्मी शाक्यको प्रश्न ’नौ पुरुषको मात्र बैठक गर्न अप्ठ्यारो लाग्दैन ?’

नेकपा बैठकमा अष्टलक्ष्मी शाक्यको प्रश्न ’नौ पुरुषको मात्र बैठक गर्न अप्ठ्यारो लाग्दैन ?’

१ पुस (काठमाण्डौं)
नेकपा नेतृ अष्टलक्ष्मी शाक्य र पम्फा भुषालले पार्टीमा केन्द्रदेखि स्थानीय तहसम्मका कमिटीमा अनिवार्य पदाधिकारी र सचिवालयमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन विधान संशोधनको माग गरेका छन् । केन्द्रदेखि स्थानीय कमिटीसम्म उपाध्यक्ष र १५ सदस्यीय सचिवालय बिस्तार गरेर महिलासहितको समावेशी र समानुपातिक सहभागिता रहेको सन्तुलित कमिटी बनाउन मागसहित उनीहरुले लिखित रुपमै मंगलबार विधान संशोधन प्रस्ताव दर्ता गराउन लागेका हुन् ।
भूमिगत कालमासमेत महिलालाई उचित प्राथमिकता दिएर कमिटीमा राख्ने स्थापित मान्यता भूलेर नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने पार्टीले पदाधिकारी र सचिवालयमा महिलाविहिन बनाएकाले संशोधन हाल्न लागेको शाक्यले पुष्टि गरिन् ।
‘भूमिगत कालमासमेत महिलाहरुलाई खोजेर कमिटीमा राखिन्थ्यो, तर अहिले त लामो संघर्ष र वलिदान गरेर नेतृत्वमै धेरै महिला पुगिसकेका छन्’ शाक्यले नेतृत्वलाई लक्षित गर्दै प्रश्न गरिन्,‘के यो अबस्थामा तपाईहरुको भाग महिलालाई दिनुपर्ने हो, सचिवालयमा ९ जना पुरुष मात्र बसेर निर्णय गर्न अलिकति अफठ्यारो लाग्दैन ? जवाफ चाहियो ।’
शाक्यले विधानले ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष र सचिवलाई पदाधिकारी माने पनि अध्यक्षको अध्यक्षतामा बैठक बस्ने व्यबस्था खारेज गरेर मर्यादाक्रममा पहिलो भएकाले ईन्चार्जकै अध्यक्षतामा बैठक बस्ने व्यबस्थाका लागि पनि संशोधन हाल्ने तयारी गरेकी छिन् । त्यस्तै, महानगर कमिटी जिल्ला कमिटी सरह भए पनि विधानमा प्रष्ट गर्नुपर्ने पनि उनको माग छ ।