नेकपामा बदलिँदो शक्ति सन्तुलन
२९ कात्तिक(काठमाण्डौं)
मंगलवार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर छलफल गरे । भदौ ५ गतेदेखि नेता नेपाल र प्रधानमन्त्री ओलीबीच बोलचाल बन्दजस्तै थियो । बिरामी भएर सिंगापुर जाने तयारीमा रहेका ओलीले नेता नेपालले स्वास्थ्यलाभको शुभकामना भन्दा त्यसलाई अस्वीकार गरेका थिए । त्यसयता दुवै नेताबीच औपचारिक बैठकबाहेक एक्लाएक्लै कुराकानी हुन सकेको थिएन ।
स्रोतका अनुसार प्रचण्डकै सल्लाहमा ओलीले नेता नेपाललाई बालुवाटार बोलाएर मन्त्रिमण्डल हेरफेर, सभामुख चयन लगायत अन्य राजनीतिक विषयमा छलफल गरेका थिए । ४ घण्टा बालुवाटारमा बिताएका नेता नेपाल बालुवाटारबाट निस्किँदा हँसिलो मुख लिएर निस्केका थिए ।
’नेता नेपालसँग भेट्न अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीलाई पटक(पटक सल्लाह दिने गर्नुभएको थियो,’ प्रचण्डनिकट स्रोतले दाबी गर्यो, ’सोमवार उहाँहरूबीच यही विषयमा छलफल भयो । त्यसपछि प्रधानमन्त्री ओलीले आफैं नेता नेपाललाई फोन गरेर बालुवाटार डाक्नुभएको हो ।’
मन्त्रिमण्डल हेरफेरजस्तो महत्त्वपूर्ण निर्णय लिँदा नेता नेपाललाई बाहिर पार्न नहुने प्रचण्डको बुझाइ छ । गत भदौ ५ गते बसेको सचिवालय बैठकमा चर्काचर्की परेपछि ओलीसँग संवादहीनताको स्थितिमा रहेका नेता नेपालको प्रचण्डसँग भेटघाट भने बाक्लै भइरहेको छ ।
समीकरण यस्तो छ
९ सदस्यीय सचिवालयमा महासचिव विष्णु पौडेल र सदस्य ईश्वर पोखरेल अध्यक्ष ओलीनिकट मानिन्छन् । प्रचण्डलाई प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ’बादल’को साथ छ भने नेता नेपाल, झलनाथ खनाल दुवै पक्षसँग समदूरीमा देखिन्छन् । तर पछिल्लो समयमा नेता वामदेव गौतम र अध्यक्ष ओलीको सामिप्यता बढेको देखिन्छ ।
नेताहरूबीच हुने पछिल्ला भेटघाटले प्रचण्ड र नेता नेपालबीच सम्बन्ध बलियो बन्दै गइरहेको देखिन्छ भने नेता गौतम ओलीसँग नजिक देखिन्छन् । तर प्रचण्ड र गौतमको सम्बन्ध विगत दखि नै निकट र एक अर्काका सहयोगी मानिन्छ ।
सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली, प्रचण्ड र नेपाल पक्षको लगभग बराबरी उपस्थिति छ । स्थायी कमिटीमा प्रधानमन्त्री ओली पक्षका १२ जना नेता छन् भने केन्द्रीय कमिटीमा १ सय १० जना सदस्य छन् । त्यस्तै प्रचण्डका पक्षमा स्थायी कमिटीमा १३ जना र केन्द्रीय कमिटीमा १ सय ३९ सदस्यहरू छन् । नेपाल पक्षमा १२ जना स्थायी कमिटी र ९२ जना केन्द्रीय कमिटी सदस्यहरू छन् ।
पछिल्लो समयमा प्रधानमन्त्री ओलीले मिलेरै जाने ’जेस्चर’ देखाएका छन् । तर शक्तिसंघर्ष नै हुने स्थितिमा नेता नेपाल दुवै अध्यक्षबीच भारी हुने देखिन्छन् ।
स्थायी कमिटी र केन्द्रीय कमिटीमा शक्तिशाली स्थानमा रहेका नेता नेपालनिकट कतिपय नेताहरू तत्काल स्थायी कमिटी बैठक बोलाउने दबाब दिन सक्रिय भएका छन् । पार्टी एकता भएपछि गत पुसमा पहिलो र अन्तिम पटक स्थायी कमिटी बैठक बसेको थियो ।
स्थायी कमिटीले एक महिनाभित्रै अर्को बैठक बोलाएर एकता प्रक्रियाका बाँकी काम पूरा गर्ने र अभियान लिएर जनतामाझ जाने निर्णय गरेको पनि वर्ष्दिन पुग्न लागिसकेको छ ।
वामदेव गौतमको बढ्दो शक्ति
गत भदौमा बसेको नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गर्ने निर्णय गर्यो । वामदेव प्रस्तावित उपाध्यक्ष मात्र भएनन्, १० लाखको हाराहारीमा कार्यकर्ता रहेको नेकपाको संगठन विभागको प्रमुख पनि बने ।
पछिल्लो समय ओली र गौतमको सम्बन्ध सुमधुर बनेको छ । गत पुसमा बसेको स्थायी कमिटी बैठकमा सरकारको सबैभन्दा ठूला आलोचक गौतम नै थिए । १६ पृष्ठको फरक दस्तावेज सार्वजनिक गर्दै गौतमले प्रधानमन्त्री ओलीले या त अध्यक्ष छाड्नुपर्ने या त प्रधानमन्त्री छाड्नुपर्ने माग गरेका थिए । तर परिस्थिति फेरियो । प्रधानमन्त्रीसँग ’लव हेट’को सम्बन्ध रहेका नेता गौतमले पछिल्लो समय ओलीसँग नजिकको सम्बन्ध भएको नेताका रूपमा आफूलाई उभ्याएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो सत्ता उत्तराधिकारीका रूपमा नेता गौतमलाई अघि बढाउन खोजेका छन् । आफू सरकारको काममा व्यस्त रहँदा पार्टीको काममा भने ओलीले महासचिव विष्णु पौडेललाई लगाएका छन् । आलोपालो सरकार र एक व्यक्ति एक पदको बहस चलिरहेको समयमा गौतमलाई अघि बढाउनु मनासिव हुने प्रधानमन्त्री ओलीको ठहर रहेको स्रोतको दाबी छ ।
तत्कालीन एमालेको नवौं महाधिवेशनअघि गौतम र ओलीको सम्बन्ध सुमधुर थिएन । २०६२ सालमा तत्कालीन विद्रोही शक्ति माओवादीलाई रोल्पामै भेट्न गएको भन्दै ओलीले कारवाहीको माग नै गरेका थिए । त्यसपछि पनि ओली पक्षबाट गौतमलाई माओवादीको ’कठपुतली’ भएको आरोप लागिरह्यो । तर नवौं महाधिवेशनको संघारमा ओली र गौतमबीच अनपेक्षित रूपमा घाँटी जोडियो ।
नेता गौतमले ओलीलाई संसदीय दलको नेता बन्न सघाउने, महाधिवेशनमा पनि ओलीलाई नै अध्यक्ष बनाउन सघाउने, ओली अध्यक्ष बनेपछि गौतम संसदीय दलको नेता बन्ने र ओली प्रधानमन्त्री बनेमा पार्टीको कार्यवाहक अध्यक्ष नेता गौतमलाई बनाउने सहमति भएको थियो ।
नेता गौतमले सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गरेपछि ओली संसदीय दलको नेता बने, महाधिवेशनबाट अध्यक्ष पनि बने तर गौतमलाई त्यसपछि ओलीले टेर्न छाडे । नेता गौतम न संसदीय दलको नेता बने, न त तत्कालीन एमालेको कार्यवाहक अध्यक्ष नै ।
२०७४ सालमा तत्कालीन माओवादीसँग चुनावी तालमेल गरेर वामपन्थी गठबन्धनलाई झण्डै दुईतिहाइ मत ल्याउने अवस्थाको सिर्जना वामदेवकै योगदानमा भएको नेताहरूको मूल्यांकन छ । दुईठूला पार्टी एकीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेका गौतमले अहिले पार्टीबाट सम्मान खोजिरहेका छन् । ओलीसँगको पछिल्लो सामिप्यता गौतमका लागि फलदायी हुनसक्ने राजनीतिक वृत्तमा अनुमान चल्न थालेको छ ।
’समकालीन नेताहरू दोहोर्याएर प्रधानमन्त्री बनिसक्दा वामदेवले एकपटक पनि सरकारको नेतृत्व गर्ने अवसर पाउनु भएको थिएन, नेकपाभित्रको त्रिपक्षीय शक्ति सन्तुलनका कारण ओलीको सत्ता उत्तराधिकारीको रूपमा वामदेवको उदय हुने सम्भावना बढेर गएको छ,’ नेकपाको पूर्वएमाले खेमाका एक नेता भन्छन् ।
वामदेवलाई जिम्मेवारी दिँदा आलोपालो प्रधानमन्त्रीमा सहमति गरेको दाबी गर्ने प्रचण्ड समेत सहमत हुने ओली पक्षको विश्वास छ । लोकान्तरमा ईश्वर अर्यालको विष्लेषण