निःशुल्क मास्क वितरण अदालतद्वारा प्रदेश सरकारलाई आदेश
४ चैत (बर्दिया)
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले सर्वसाधारणहरुलाई कोरोना भाइरसबाट जोगाउन मास्क र औषधि निःशुल्क वितरण गर्न प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ । न्यायाधीश पवनकुमार शर्मा न्यौपानेको एकल इजलासले सोमबार रिटको सुनुवाई गर्दै उक्त आदेश दिएको हो ।
आदेशमा कोरोना भाइरस रोगको निःशुल्क औषधि उपचार, परीक्षण र निःशुल्क स्वास्थ्य उपचारको हकबाट वञ्चित नगर्न भनिएको छ । त्यस्तै कानून बमोजिमको निःशुल्क औषधि उपचार, रोकथाम, परीक्षण, निःशुल्क मास्क, निःशुल्क सेनिटाइजर उपलब्ध गराउन भनिएको छ ।
‘सबै विद्यालय कार्यालय, सघंसस्था अस्पताल स्वास्थ्य सस्था समेतमा हाथ धुने साबुन हृयान्ड वास सेनिटाइजरसमेतको व्यवस्था तत्काल गर्नु, गराउनु नागरिकहरुको जीवन रक्षा गरी स्वास्थ्य अधिकारबाट वञ्चित नगर्नु,’ आदेशमा भनिएको छ ।