धमाधम मर्न थाले गैडा
२८ पुस (चितवन)
चितवन राष्ट्रिय निकुञ्जमा धमाधम गैडा मर्न थालेका छन् । साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक सोमबार निकुञ्जको माडी क्षेत्रमा पर्ने बनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार घाइते गैँडा मरेको सूचना प्राप्त भएको छ । सो गैँडाको पोष्टमार्टमका लागि प्राविधिक टोलीसहित आफू त्यसतर्फ जान लागेको उनले बताए । केहीदिनअघि सो गैँडा घाइते भेटिएपछि निगरानीमा राखिएको थियो ।
पछिल्लो गणनाअनुसार देशभर ६४५ गैँडा रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ वटा गैँडा फेला परेका थिए । यस वर्षको चैत्रमा गैँडा गणना गरिँदै छ । पछिल्ला वर्षमा कालगतिले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मृत्युको कारण पत्ता लगाउन समिति गठन गरेको छ ।