धनगढी जलमग्न, वडाध्यक्ष हैरान

धनगढी जलमग्न, वडाध्यक्ष हैरान

धनगढी, साउन १४
झन्डै एक वर्षअघि साउन महिनाको झरीमा भिज्दै नालाको निकास खोज्दै हिँडिरहेका वडाध्यक्ष एक वर्षपछि पनि उस्तै अवस्थामा भेटिए । मंगलवारदेखि सुरु भएको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का लगभग सबै बस्तीहरू डुबानमा परेका छन् ।
बुधवार बिहानै घरबाट निस्किएका वडाध्यक्ष बलबहादुर ऐर ११ बजे मित्र नगरमा हातमा फरुवासहित नालाको पानी निकास गर्दै गर्दा भेटिए । त्यसअघि सोही वडाका विभिन्न स्थानमा पुग्दा स्थानीयको घरमा पानी बसेर बेजोग बनाएको उनीहरूले दुखेसो पोखेका थिए ।
स्थानीय कृष्णबहादुर चन्दले भने, ‘मैले यहाँ बस्न थालेको झन्डै १५ वर्ष बित्यो । जो पनि आउँछन् विकास गर्छु भन्छन्, अनि काम गर्ने बेलामा आफ्नो मात्रै हेर्छन् ।’ नालाहरूको उचित निकास र व्यवस्थापन हुन नसक्दा अहिले स्थानीयको बिचल्ली भएको उनको दुखेको छ ।
मंगलवार रातीबाट सुरु भएको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाको ३ नम्बर वडाको मित्रनगर, मिलन चोक, गुरुद्वारा क्षेत्र, विशालनगर, बोरा डाँडीलगायतका क्षेत्र उच्च डुबानमा परेका छन् ।
बिहानैबाट नालाहरूको निकास खोज्दै हिँडेका वडाध्यक्ष ऐरले भने, ‘वडा बासीहरूमाथि पर्न गएको पिर–मर्का हेर्ने हो भने उनीको गुनासो र उनीहरूले दिने गाली एकदम जायज हो । हामी निर्वाचित भएर आइसकेपछि प्रदेश सरकार, स्थानीय तह र संघ सरकारलाई वडाको समस्या समाधानका लागि कार्यभार सम्हालेदेखि बोल्दै आएका छौँ । मलाई त अब मिडियामा बोल्न पनि लाज लागिसक्यो । स्थानीय सरकार पनि मौन छ, प्रदेश सरकार पनि मौन छ । सङ्घीय सरका पनि मौन छ । के गर्न खोज्या हो थाह छैन ।’ उनले अगाडी थपे, ‘प्रत्येक वर्ष यस्तै छ । २०५५ सालदेखि स्थानीयको मागलाई गुमराहमा राखिएको छ । ६ लेन सडक बन्यो बिना नालीको बन्यो, रिङ रोड बन्यो बिना नालीको बन्यो जसका कारण अहिले मित्र नगर, मिलन चोक, विशालनगर बोराडाडी, गुरुद्वारा क्षेत्रसहित सबैतिर उस्तै बेजोग छ ।’
उनी थप्छन्, ‘हामीले वडाको बजेटबाट यसको समाधान सम्भव हुने भए पहिलो बर्सनै समाधान गरिसक्थ्यौँ । वडाको बजेट सामान्य कामहरूमै ठिक्क हुन्छ । मैले प्रदेश सरकार, सङ्घ र धनगढीमा यस सम्बन्धी प्रत्येक वर्ष योजनामा लेखेर पठाएको छु । हाम्रो यस क्षेत्रबाट संघमा नारदमुनी राना हुनुहुन्छ । प्रदेशमा भौतिक पूर्वाधार मन्त्री यहीँ नजिकै हुनुहुन्छ । धनगढीमा मेयर काठमाडौँ गएर बस्नु भएको छ । कसले हेर्ने हो यहाँका समस्या ?’
उनले अब जनता धेरै बेरसम्म चुप लागेर बस्ने अवस्था नरहेको समेत आक्रोस पोखे । ‘मन्त्री ज्यूहरू क्वाटरमा सुत्ने होइन, अब बाजुरा बझाङ पुग्न नसके पनि नजिकैका जनताका समस्या समाधान गर्न त जाग्नुस् ।’ उनले थपे, यदि समस्या समाधानमा ध्यान नदिनुहुने हो भने अब जनताका आक्रोसको ज्यालामुखी फुट्ने खतरा छ ।