धनगढीमा नेपाल भ्रमण वर्षको भव्य उद्घाटनको तयारी

धनगढीमा नेपाल भ्रमण वर्षको भव्य उद्घाटनको तयारी

१२ पुस (धनगढी)
उद्योग, पर्ययटन वन तथा वातावरण मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को भव्यताका साथ उद्घाटनको तयारी गरेको छ ।
प्रदेशस्तरीय प्रबद्र्धन समितिमार्फत मन्त्रालयले भ्रमण वर्ष उद्घाटनको तयारी गरिरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले बताए । मुख्यमन्त्री त्रिलोचन भट्ट संरक्षक रहेको प्रवद्र्धन समितिको पुस ८ गतेको बैठकले तयारीका लागि विभिन्न उपसमितिहरूसमेत गठन गरेको छ । उद्घाट्नको लागि विभिन्न कार्ययोजना बनाएको समितिले भ्रमण वर्षको लोगो, भव्य रूपमा उद्घाटन गर्नका लागि सांस्कृतिक झाँकी तथा ‍र्याली गर्ने, मञ्च तथा गेट बनाउने, मञ्च व्यवस्थापनको भाषण तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्ययोजना बनाएको पर्यटन शाखाका अधिकृत भोजराज पाठकले बताए । पाठकका अनुसार धनगढीको ट्राफिक चौराहादेखि शहिदगेट तथा क्याम्पस रोड लगायतका स्थानबाट ‍र्याली निकाल्ने र संघीय प्रहरी इकाईको मैदानमा कार्यक्रम कार्यक्रम आयोजना गरिने भएको छ ।
एक निकाय एक अभियान सञ्चालन गर्न सबै सरकारी, गैरसरकारी, नीजि क्षेत्र लगायतका सरोकारवालाहरूलाई आह्वान गरिएको छ । प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालयहरूलाई अनिवार्य रूपमा गेटमा कलश राख्न अनुरोध गरेको जनाइएको छ ।
त्यस्तै सुदूरपश्चिमका ५ स्थानमा स्वागतद्वार निर्माण गरिने भएको छ । कञ्चनपुरको गड्डाचौकी नाका, धनगढीको भन्सार नाका, चिसापानी, झुलाघाट बैतडी र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गरिँदै छ ।