दुर्गम गाउँमा अल्ट्रासाउण्ड सेवा

दुर्गम गाउँमा अल्ट्रासाउण्ड सेवा

२३ फागुन (दार्चुला)
सुदूरपश्चिमकाे सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा विभिन्न जिल्लाका विभिन्न स्वास्थ्य चाैकीलाइ हालै वितरण गरिएका ग्रामिण अल्ट्रासाउण्डकाे सेवा दुर्गम जिल्लाका विभिन्न स्वास्थ्य चाैकीमा सुरु भएकाे छ ।
डाेटीका केही स्वास्थ्य चाैकीमा सेवा सुरुपछि दार्चुलाकाे महाकाली नगरपालिका–७ को धाप स्वास्थ्य चौकीमा बुधबारदेखि ग्रामिण अल्ट्रासाउण्ड सेवा सुरु भएकाे हाे । सेवा सुरु भएपछि गर्भवतीलगायत अन्य विरामीलाई गाउमै स्वास्थ्य जाँच गर्न सजिलो भएको छ । निर्देशनालयले अनमि र स्टाफनर्सलाइ तीन साताकाे तालिम दिएर अल्ट्रासाउण्ड सेवा प्रदान गर्न सक्ने जनशक्ति तयार थियाे ।
दार्चुलाको महाकाली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दुर्गमका गर्भवतीलाई गाउँघरमै सेवा दिन तथा नवजात शिशु मृत्युदर शुन्यमा झार्ने उद्देश्यले ग्रामिण अल्ट्रासाउण्ड सेवा सुरु गरिएको स्वास्थ्य शाखाका उपसंयोजक लालजिरा भट्टले बताइन् । विगतमा धाप स्वास्थ्य चौकीले जिल्ला अस्पतालको अल्ट्रासाउण्ड मेसिन मागेर महिलाहरुको गर्भ चेकजाँच गर्नुपर्ने बाध्यता थियो ।
अल्ट्रासाउण्डकाे रिपोर्टका आधारमा आमा र बच्चामा हुनसक्ने समस्या पहिचान गरेर समयमै समाधान गर्न सजिलो भएको उपसंयोजक भट्टको भनाई छ । अल्ट्रासाउण्ड सेवा निःशुल्क सञ्चालनमा ल्याइएको छ । उनले भनिन्, ‘अब यहाँका गर्भवतीहरुले स्वास्थ्य चेकजाँच गर्न सदरमुकाम जानुपर्दैन ।’
ग्रामिण अल्ट्रासाउण्ड सेवा सुरु गर्दै महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले ग्रामिण बस्तीका गर्भवतीहरुमा अनेक प्रकारका स्वास्थ्य समस्या हुने गरेकाले ग्रामिण अल्ट्रासाउण्डले समयमै समस्या पहिचान गर्न सहज हुने बताइन् । तस्विर- ग्रामिण अल्ट्रासाउण्डद्धारा जाँच गर्दै बाजुरा मार्तडीमा नर्सिङ स्टाफ