दाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ आज हुँदै

दाहालविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं : नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ । अधिवक्ता समीर हायूले दर्ता गराएको अवहेलना मुद्दामा सर्वोच्चले सुनुवाइ गर्न लागेको हो ।

रिटमा नेकपा अध्यक्ष दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गरिएको छ ।

रिटमा प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गरिएको छ ।

त्यस्तै अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा दाहालले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर गरिएको छ ।

सर्वोच्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन छ । उनीहरु सबैलाई गत बिहीबार अदालतले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।