दार्चुलाको उपहार ‘अल्लोको कोट’
२१ माघ (दार्चुला)
काठमाडौंमा बस्ने साथीले ‘दार्चुलाको उपहार के ल्याइदिने हो’ भनेर सोधे । व्यास गाउँपालिका–५, स्याकुका कमलसिंह धामीले फ्याट्ट भने, ‘दार्चुलाको मुख्य उपहार त अल्लोबाट बनेको कोटको कपडा हो ।’ स्थानीय उत्पादन भएकाले ख्याती कमाएको यहाँको अल्लोको कपडा उपहार पाएपछि साथी दंग परेको कमलले अनुभव सुनाए ।
जिल्लामा आउने र बाहिर रहने पाहुना तथा साथीभाइ, आफन्तलाई धेरैजसोले अल्लोको कपडा उपहार दिन्छन्, पठाउँछन् । ४र५ वर्षदेखि दार्चुलामा अल्लोका कपडा उपहार लिने–दिने चलन बढेको छ । स्थानीय उत्पादनको प्रचारका लागि अल्लोका उत्पादनलाई मायाको चिनोस्वरुप दिने गरिएको हो । ‘साथीलाई कोट सिलाउनका लागि अल्लोबाट बनेको कपडा किनेर ल्याएँ,’ एक गैरसरकारी कार्यालयमा कार्यरत अम्बादत्त जोशीले दार्चुला पुगेका बेला सदरमुकाम खलंगाबाट अल्लोको कपडा कोसेली ल्याएको बताए । जोशीले थपे, ‘स्थानीय उत्पादन प्रयोग गर्न तथा स्वास्थ्यका लागि पनि लाभदायक कपडा किन्न पाइयो ।’ बाहिरी जिल्लाबाट आएका अधिकांशले अल्लोबाट उत्पादित कपडा किनेर लैजाने गरेका छन् । जंगलमा पाइने अल्लोबाट कपडा बुनेको जानकारी पाएपछि धेरै पाहुनाले नौलो मानेर चासो राख्ने गर्छन् । जिल्ला बाहिरबाट कार्यक्रमका लागि आउने जो कोही सामान किन्नका लागि आउने गरेको खलंगास्थित अपीनाम्पा अल्लो उद्योगका सञ्चालक कृष्णानन्द जोशीको भनाइ छ । बुवाकै पालादेखि उत्पादन थालेपनि डेढ दशकअघिमात्रै व्यावसायिक उत्पादन सुरु गरिएको उनले बताए । एउटा कोटका लागि आवश्यक पर्ने कपडाको मूल्य ४ हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरू बताउँछन् ।