तिंकरबाट ओर्लिए प्रहरी

तिंकरबाट ओर्लिए प्रहरी

१७ कार्तिक (दार्चुला)
हिमाली भेगमा चिसो बढ्न थालेपछि दार्चुलाको त्रिदेशीय सीमा नाका तिंकरमा रहेको प्रहरी टोली बेंसी झरेको छ ।
‘वैशाखमा तिंकर उक्लेको प्रहरी टोली चिसो बढेपछि कार्तिकको पहिलो साता सीतापूल फर्केको हो’ निमित्त प्रहरी प्रमुख जोशीले भने, ‘प्रहरी बस्ने ठाउँमा चिसो धेरै हुन्छ । जीर्ण संरचनामा चिसो सहन नसकिने हुँदा कात्तिकमै झर्नु परेको हो ।’ त्यहाँ चिसो मौसमका कारण पानी जम्न सुरु भएको र बोकेर लिइएको खाद्य सामग्री पनि सकिन थालेपछि चाँडै तल सर्नुपरेको उनको भनाइ छ । प्रहरी चौकी सीता पुलमा केहि समयको लागि बस्ने छ । ब्यासी सौका समुदाय ब्यासबाट बेशी एवं सदरमुकाम खलंगा झर्ने बित्तिकै सिता पुलबाट पनि तल प्रहरी राप्लाको दुम्लिङ झर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
३ हजार ७ सय मिटर उचाइमा रहेको तिंकर गाउँका स्थानीय बेसी नझर्दै सीमा प्रहरीचौकीको टोली तल ओर्लिसकेको स्थानीय मोहनसिंह तिंकरीले बताए । यहाँका स्थानीय बासिन्दा मंसिर पहिलो सातातिर बसाइ सर्न सुरु गर्छन् । प्रहरी भने आफूहरूभन्दा दुईरतीन साताअगाडि नै झरेको तिंकरीको भनाइ छ ।
चिसो थेग्न सक्ने भौतिक संरचना नभएकाले बर्से्नि तिंकरलगायत ब्यास क्षेत्रबाट प्रहरी टोली बेसीमा बसाइँ सर्छन् । समुद्र सतहबाट झन्डै ३ हजार ८ सय मिटर उचाइको सामरिक क्षेत्र ब्यासमा सुरक्षार्थ खटिएको प्रहरीले चिसोमा न्यानो खोज्न बर्से्नि तल झर्नुपरेको जिल्ला प्रहरीले कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख सुरेन्द्रप्रसाद जोशीले बताए । प्रहरी प्रधान कार्यालयको आदेशअनुसार कात्तिक पहिलो साता तिंकर चौकीबाट ब्यास गाउँपालिका १ छाङरुमा रहेको सीतापुल चौकीमा सरेको उनले बताए ।

सदरमुकामबाट एक सय २२ किलोमिटर दुरीमा रहेको तिंकरमा विगतदेखि प्रहरी जीर्ण भवनमा बस्दै आएका छन् । मौसम अनुकूल बस्ने मिल्ने प्रहरीचौकी निर्माणका लागि पहल गरिएपनि हालसम्म कुनै प्रक्रिया अगाडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्रिदेशीय सीमा क्षेत्रमा भारतीय र चिनको बलियो सुरक्षा उपस्थिती छ । नेपालले अहिलेसम्म प्रहरीलाई १२ महिना बस्न सक्ने संरचनासमेत निर्माण गर्न नसक्दा यस अवधिमा सीमा क्षेत्र सम्पर्क्विहीन हुने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् । त्रिदेशीय नाका भएकोले यो ठाउँ तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ । तर पनि नेपाली सुरक्षाकर्मीलाई वर्षभरि तिंकर बस्ने वातावरण बनाइएको छैन । देशकै सम्वेदनशील नाका भएकाले स्थानीयले पटक–पटक तिंकरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राख्न माग गरेपनि भौतिक पुर्वाधार अभावमा स्थायी रुपमा सुरक्षाकर्मी तिंकर बस्न नसकेको हो । कान्तिपुरबाट