डोकोबाट सुरु व्यवसायले ‘करोडपति’

डोकोबाट सुरु व्यवसायले ‘करोडपति’

४ चैत (तनहुँ)
उनी ०३३ मा हेटौंडाबाट तनहुँ आएर डोकोमा फलफूल बिक्री थाले । हाल करोडौ रुपैयाँको सम्पत्ति आर्जन गर्न उनी सफल भएका छन् । व्यास–३ दमौलीका ६६ वर्षीय जयबहादुर लामा मकवानपुरको मनहरी–६ बाट आएका हुन् ।
उनले सुरुमा डुम्रे र ०४८ पछि दमौलीमा डोकोमा फलफूल, तरकारी बेचे । ‘४२ वर्ष भयो यो पेसा गरेको,’ उनले भने, ‘कुनै पनि कामलाई निरन्तर गरिरहे सफलता मिल्दोरहेछ । सुरुमा १० हजार रुपैयाँको लगानीबाट गरेको व्यवसायले अहिले चार करोड रुपैयााँ बराबरको चलअचल सम्पत्ति जोड्न सफल भएको छु । डोको, ठेला हुँदै अहिले टहरोमा फलफूल तथा जुस पसल गर्दै आएका छन् ।’
फलफूल र तरकारी डोकामा बोकेर घरघरमा बिक्री गर्दै हिँडेको उनलाई सम्झना ताजै छ । ‘दुःख गरेर यहाँसम्म आइपुगेको छु,’ उनले भने, ‘यो पेसा व्यवसायलाई आफ्ना छोराछोरीले निरन्तरता दिए हुन्थ्यो ।’ आफ्नो मिहिनेतलाई छोराछोरीले त्यति नबुझ्दा र व्यवसायप्रति चासो नदिंदा भने चिन्तित छन् । ठूला भएर छोराछोरीले के खाने, के लगाउने भन्ने बुझे पनि पैसा बुझ्न नसककेको उनको गुनासो छ । फलफूलको जुस, लस्सी, फलफूल, पानीपुरी, चटपट बिक्रीबाट लामाले वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्छन् । यही व्यवसायबाट घर घडेरी जोडेका हुन् उनले ।
घाँसीकुँवामा आफ्नै घरमा होटल तथा लज सञ्चालनमा ल्याएका उनले १५ जनालाई रोजगारीसमेत दिएका छन् । लामाको यो व्यवसायलाई श्रीमती ठूलीमाया, बुहारी मीनाले साथ दिएका छन् । आम्दानीबाट सन्तुष्ट रहेको मीना बताउँछिन् । महिनामा चटपटबाट मात्रै करिब १५ हजार रुपैयाँ आम्दानी हुन्छ । घाँसीकुवामा पाँच रोपनी जग्गा भाँडामा लिएर उखु खेती पनि गर्दै आएको ठूलीमाया बताउँछिन् । उनले भनिन्, ‘उखु आफ्नै पसलमा खपत हुन्छ ।
केही मात्र बाहिर बेच्छौं ।’ उखुको हेरचाहका लागि एक जनालाई महिनाको २५ हजार दिएर राखेको र जग्गाभाडा मासिक ३५ हजार रुपैयाँ दिने उनले बताइन् । अहिलेका युवा रोजगारीको खोजीमा बिदेसिने प्रवृत्ति बढ्दो छ । आफ्नै गाउँठाउँमा परिवारसँगै बसेर यति राम्रो आम्दानी लिन सकिने भएकाले खाडी मुलुक नजान लामाको आग्रह छ । उनले भने, ‘युवा यही काम आफ्नो देशमा गर्न लजाउँछन् । अरूको देशमा जस्तो काम पनि गर्छन् । कुनै काम सानो–ठूलो हुँदैन, पसिना बगाएर कामको महत्त्व र पैसा चिन्न सके यहीं सबथोक छ ।’