टीकापुर सधैं भरिभराउ
१८ कार्तिक (टीकापुर)
सहरका बीचैबीच परिवार र विभिन्न उमेर समूहका युवा र किशोरकिशोरीलाई रमाइलोका लागि पार्क कति आवश्यक रहेछ भन्ने पुष्टि हिजोआज टीकापुर पार्कमा हुने घुइँचोले गर्छ । वनभोज र घुमघामका लागि आउने आन्तरिक पर्यटकले पार्क भरिभराउ हुने गरेको छ । सार्वजनिक बिदाका दिनमा यहाँ आउनेको संख्या एकै दिन १० हजार पनि पुग्ने गरेको छ ।
‘तिहारपछि भीड बढेको हो,’ पार्क व्यवस्थापनका इञ्चार्ज अर्जुन कुँवरले भने, ‘पिकनिक मनाउने र घुमघाम गर्नेहरू दिनदिनै बढेका छन् ।’ तिहारमा देउसीभैलो खेलेर भेला पारेको पैसाले युवा र किसोरकिसोरी वनभोजमा निस्कन सुरु भएको छ । उनीहरूले भेला भएर खान र सामुहिक तस्बिर खिचाउन पार्कलाई रोज्ने गरेका छन् । टिकापुरकै मात्रै नभइ दाङ, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरबाट पनि पार्कमा घुम्नका लागि आइपुगेकाहरू भेटिने कुँवरले बताए । ‘दसैंतिहार सकिएको यो बेला जाडो बढिसकेको छैन, तर घाम न्यानो हुन थालेको छ,’ उनी भन्छन्, ‘यो बेला बर्सेनी पार्कमा भीड हुन्छ ।’ अत्यधिक घुइँचो भइरहँदा पार्क सरसफाइ र सुरक्षामा कठिनाइ हुने गरेको छ । घुम्न आएकाहरूले फूल टिप्ने, बिरुवा भाँच्ने, खानेकुरा ल्याएका प्लास्टिक र कागज जथाभावी मिल्काउने गरिदिँदा पार्क सफाइमा गाह्रो पर्ने गरेको छ ।
टिकापुर पार्क टिकापुरको मुख्य बजारबाट ४ किमि दक्षिण–पूर्व र राजमार्गको लम्कीबाट १८ किमि दक्षिण कर्णाली नदी किनारमा छ । २०२४ सालतिर कञ्चनपुरको शुक्लाफाँटामा सिकार खेल्न आएका बेला तत्कालीन राजा महेन्द्र शाह मुटुको समस्याले बिरामी परेका थिए । स्वच्छ वातावरण भएका ठाउँमा आराम गर्न उनलाई चिकित्सकले सल्लाह दिए । उनी यहीँ आएर आराम गरेपछि सन्चो भए । २९ दिन बसेर राजा फिरेपछि यो ठाउँले उद्यानको योजना पायो । २०२८ सालमा गठित टीकापुर विकास समितिले पनि यहाँ संरचना थप्ने योजना अघि बढायो ।
तत्कालीन सरकारले ३ हजार १ सय ३३ बिघा वनसहितको भूभाग उक्त समितिलाई दिएको थियो । योजनाको आवश्यकता अनुसारको क्षेत्रमा वन फाँडेर पनि संरचना निर्माणका काम भए । राजाले आराम गर्नका लागि संरचना बनाइएकाले पहिले पहिले ‘बंगला’ भनेर चिनिने क्षेत्र नै कालान्तरमा टीकापुर पार्कमा रुपान्तर भएको हो । पार्कले अहिले करिब ८६ बिघा क्षेत्रफल ओगटेको छ । यति ठूलो क्षेत्रफलमा फैलिएको सार्वजनिक उद्यान मुलुकमा अन्त छैन । टीकापुर बृहत् उद्यान नाम दिइएको पार्कमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम गृह र ऐश्वर्य वाटिका जोडिएका छन् । यी सबैलाई एकीकृत गरेपछि नदी किनारको क्षेत्र टीकापुर बृहत् पार्क बनेको हो । नदी किनारैकिनार नर्सरी छ । पूर्वपट्टि कर्णाली नदी र घनाजंगल, उत्तरमा पहाडी चुचुराको दृश्य यहाँबाट मनमोहक देखिन्छ । टीकापुर पार्ककै तटमा कर्णाली नदीका छालहरू सुसाउँदै बज्रदै बग्ने गर्छ । रानी जमरा र कुलरिया कुलो सिँचाइ आयोजनाले नदी किनारमा बनाएको तटबन्धले पार्कलाई बाढीबाट बचाउनुका साथै सुन्दरता पनि थपिदिएको छ । यहाँ विभिन्न प्रजातिका गुलाबका फूलको संग्रह देख्न सकिन्छ । फूलहरू संगृहीत पुष्पवाटिकाबाहेक पार्कमा विभिन्न प्रजातिका फलका बोटविरुवा संगृहीत खण्ड पनि छ ।
वनभोज खेल्न पुग्नेका लागि सुविधा छ । टीकापुर पार्कमा प्राकृतिक सुन्दरता मात्र होइन, थपिएका संरचनाले पनि घुम्न जानेले रुचाएका छन् । ठूलो क्षेत्रफल भएकाले यहाँ पुग्ने जो कोहीले भीड भएर घुम्न पाइएन भन्नै पर्दैन । घुम्न चाहनेका लागि पनि एकै दिनमा पूरा पार्क भ्याउन सजिलो छैन । टीकापुरबाट १६ किमि पर्तिर भारतीय बजार तिकुनिया छ । छोटो दूरीको यात्रामा मनमोहक पार्क हेर्न–घुम्न पाइने थाहा पाएपछि भारतीय पनि यहाँ समूह समूहमा आइपुगेका हुन्छन् ।