टिकट पाउनै सास्ती
१२ असोज (धनगढी)
घटस्थापनको दिन भइसकेकाले विभिन्न पहाडी जिल्लाबाट विभिन्न कामका शिलशिलामा धनगढीमा बस्दै आएकाहरुलाई घर फर्किन हतारो छ । तर उनीहरुले बसपार्कमा टिकट सहजै पाइरहेका छैनन् ।
धनगढीमा बस्दै आएकी दार्चुलाकी संगीता पाल चन्द अग्रिम टिकट बुकिङ खुला भएको सुनेर मख्ख परेकी थिइन् । उनी दसैंमा घर जान अग्रिम टिकट बुकिङ गर्न धनगढी बसपार्क गइन् ।
तर, टिकट काउन्टरका कर्मचारीले अग्रिम टिकट बुकिङ सकिएको बताए । ‘घरपरिवार पहाडमै बस्नुहुन्छ । म र देवरानी छोराछोरीसहित धनगढी बस्छौं । नवरात्री नजिकिसक्यो । घर जान टिकट काट्न गएँ, काउन्टरवाला दाईले अग्रिम टिकट बुकिङ सकियो भने,’ उनले भनिन्, ‘जति अनुरोध गर्दा पनि काउन्टरवालाले टिकट दिन मान्नुभएन ।’
धनगढीबाट टिकट पाउन सम्भव नदेखेपछि उनी टिकट बुक गर्न कञ्चनपुरतिर लागेकी थिइन् । हरेक वर्ष दसैंमा यातायात समितिहरूले अग्रिम टिकट बुकिङ खोल्ने गरेको बताउँदै आएको भएपनि सर्वसाधारण यात्रुले जहिल्यै सास्ती खेप्दै आउनुपरेको उनले सुनाइन् । बैतडी खोड्पे बजारका खेमराज अवस्थी पनि शुक्रबार बसको टिकट काट्न सुदुरपश्चिम यातायातको काउन्टरमा घण्टौ लाइन बसे । तर टिकट पाएनन् । ‘खोड्पेसम्म जान्छु भन्ने बित्तिकै टिकट सकियो भाइ भन्दै कुरै नसुनेर फर्काए,’ उनले भने ‘दसैंमा परिवार छोरा आउला भनेर बाटो हेरेर बसेका छन् । आफु भने टिकट नै नपाएर हैरान भएको छु ।’
उनले खोड्पे बजार बैतडीको सदरमुकामभन्दा केहि वर नै भएकोले आफुलाई टिकट नदिएको बताए । बस ब्यवसायीहरूले दसैंका बेला यात्रुको चाप रहने भएकाले सदरमुकामसम्मकै यात्रुलाई मात्र टिकट दिने गरेको उनी बताउँछन् । ‘काउन्टरमा बसको व्यक्तिले सदरमुकामसम्म जाने हो भने सिट बनाउन सकिन्छ, होइन भने केहि भन्न सकिँदैन भनेर जवाफ दिए,’ उनल भने । दसैं नजिकिएसँगै अहिले पहाडी जिल्लामा जाने अधिकांश यात्रु टिकट नपाएको गुनासो गरिरहेका छन् ।
बस ब्यवसायीहरूले भने अग्रिम टिकट बुकिङ पुरा भैनसकेको बताएका छन् । उनीहरूले अहिले पनि पहाडी जिल्लाका लागि टिकट बिक्री भइरहेको बताएका छन् । ‘अहिले नै टिकट सकिएको नहोला’ सुदूरपश्चिम यातायात कार्यालय प्रमुख देबीलाल जोशीले भने, ‘सुरुमा नम्बरको बसको टिकट काटिन्छ । त्यो सकिएपछि यात्रुको चाप हेरेर अतिरक्ति गाडी सञ्चालन गरिन्छन् ।’ उनले कुनै पनि यात्रु टिकट नपाएर घर जानबाट वञ्चित नहुने बताए । केही ढिलो भए पनि जान चाहने यात्रुले टिकट पाउने उनको भनाइ थियो ।