जसले प्रचण्डलाई बम र बन्दुक चलाउन सिकाए

जसले प्रचण्डलाई बम र बन्दुक चलाउन सिकाए

३ फागुन, (काठमाण्डौं)
तत्कालीन नेकपा (मशाल) ले २०४४,०४५ सालतिर सशस्त्र क्रान्तिको तयारी गर्दा प्रचण्डलाई बम बनाउने, पड्काउने तालिम दिने व्यक्ति थिए, धनुषा, सवैलाका कमलदेव साह ।
२०३६ सालको विद्यार्थी आन्दोलनपछि अनेरास्ववियु (पाँचौं) मा केही समय काम गरेपछि साह मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) तिर लागेँका थिए । २०४० सालमा सिरहाको एउटा गाउँमा पार्टीको प्रशिक्षण चलिरहेको थियो । पार्टीमा केन्द्रीय सदस्य रहेका पुष्पकमल दाहालको भूमिगत नाम त्यतिबेला ‘विश्वास’ थियो ।
‘प्रचण्डले पार्टीमा पहिलोपटक दीर्घकालीन जनयुद्धको प्रस्ताव ल्याउँदा हामी तरङगित भएका थियौं, भलै हामीमध्ये कसैमा फौजी अभ्यासको अनुभव थिएन’ कमलदेव तीन दशक पुरानो घटना स्मरण गर्छन् ।
‘भारतमा सैन्य तालिम दिने समूहहरू छन् भन्नेसम्म सुनेका थियौं र केही युवक मनभरी खुलदुली लिएर २०४१ सालमा भारततिर हान्नियौं । त्यहाँ नबजनवादी मोर्चा नेपालका अध्यक्ष स्व रामराजाप्रसाद सिंहसँग पटनामा भेट भयो’ साह स्मरण गर्छन । रामराजा पनि पञ्चायत फालेर नेपालमा गणतन्त्र ल्याउन सशस्त्र क्रान्ति नै गर्नुपर्छ भन्दै आन्दोलनमा थिए ।
‘हामी ४० जनाको टोली बनेर सैन्य तालिमका लागि भारतको झारखण्डको सिमुलतला जङगल पुग्यौं । रामराजाका भाई लक्ष्मणप्रसाद सिंह हाम्रो समूहका नेता थिए । हामीले त्यहाँ बम बनाउने, बिस्फोट गराउने र अन्य हतियार चलाउने तालिम लियौं,’ कमलदेवले भने ।
‘६ महिना पुगेपछि रामराजा बाबुले मिसनमा जाने बेला भयो, को तयार छ भनेर सोध्दा म अग्रसर भइहालें ।’ कमलदेवले भने, ‘खेमराज भट्ट मायालुको नेतृत्वमा म सहित तीन जनाको टोली धनगढीस्थित सैनिक ब्यारेकमा विस्फोट गराउन खटियो ।’
धनगढीमा पहिलो विस्फोट
प्रचण्डलाई बम बनाउन सिकाउने गुरु कमलदेवका पनि गुरु हुन, गणतन्त्र नेपालका प्रणेता रामराजाप्रसाद सिंह । सिंहसँगै उनले बम बनाउन सिकेका थिए । त्यसैले त कमलदेवले नै २०४२ सालमा धनगढीको सैनिक ब्यारेकमा बम विस्फोट गराएका थिए । खेमराज भट्ट मायालुलाई भारतमा छोडेर एकजना साथी लिएर कमलदेव बम विस्फोट गराउन धनगढी आएका थिए ।
त्यसपछि उनी भारत निर्वा्िसत भए । ‘कारवाहीको सिलसिलामा धनगढीको एउटा होटलमा बस्यौं । सेना बस्ने गेटमा बम छोडिदियो अनि होटल छोडेर भारततिर लाग्यौं’ पहिलो पटक विस्फोट गराएको घटना स्मरण गर्दै उनले भने, ‘सैनिक ब्यारेकको गेट उडेछ । मान्छे मर्यो या मरेन हामीलाई थाहा भएन ।’
२०४२ सालको बमकाण्डको नामले चर्चित धनगढी, जनकपुर, काठमाडौंको राजदरबार, राष्ट्रिय पञ्चायत लगायतका स्थानमा भएको बिस्फोट त्यसैको परिणाम थियो । नव जनवादी मोर्चाका सवै नेता कार्यकर्ताहरू प्रहरीको वान्टेड सुचिमा थियो । भारत फर्केर पुनः रामराजा प्रसादको शरणमा बस्नुपरेको थियो । एक वर्ष पछि घर परिवारलाई भेटन भनेर रामराजा प्रसाद सिंहले कमलदेवलाई भारतको जयनगर पठाए ।
२०४४ सालमा भेटिएका मशालका नेता मातृका यादव र रामवृक्ष यादवले पार्टी जनयुद्धमा जाने तयारी गर्दैछ भन्दै कमलदेवलाई चितवन, शिवनगरस्थित प्रचण्डको घर पुर्याएका थिए । ‘त्यतिबेला प्रचण्डले २०४२ को बमकाण्ड हामीले गरेको कुरामा विश्वास गर्नुभएको थिएन । उहाँको विचारमा त्यो दरबारको षड्यन्त्र थियो’, कमलदेवले भने ।
त्यसपछिका तीन महिना कमलदेव प्रचण्डकै घरमा बसें । रामबहादुर थापा बादल पनि त्यहीं थिए । ‘एक दिन मैले बम बनाएर पड्काएपछि बल्ल उहाँहरूले पत्याउनुभयो । त्यसपछि प्रचण्डले हामीलाई पनि सिकाउनुपर्यो भन्नुभयो । हामी गोरखातिर लाग्यौं । त्यहाँ मैले बम बनाउन सिकाएँ । थापाले बन्दुक र सीपी गजुरेलले लट्ठी चलाउन सिकाउनुहुन्थ्यो’ साहले पुराना दिन सम्झँदै भने । ‘प्रचण्डले चाहिँ राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो, सँगसँगै आफूले पनि सामान्य बम, टाइमबम, ब्यागबम र ग्रिनेड बनाएर बिस्फोट गर्न सिक्नुभयो ।’
त्यहीबेला छोरो सिकिस्त बिरामी भएको खबर आएपछि साह घरतिर लागे । भारतको बम्बई लगेर डेढ वर्ष उपचार गरेपछि मात्र छोरो ठीक भयो । त्यसपछि नेपाल फर्किंदा जनआन्दोलन चर्कंर्दै थियो । ‘मेरो सम्पर्क बाम मोर्चाका धनुषा अध्यक्ष रामचन्द्र झासँग भयो । उनकै उत्प्रेरणाले पार्टीमा सहभागी नभए पनि म आन्दोलनमा होमिएँ ।’, कमलदेवले लोकान्तरसँग भने, ‘जनआन्दोलन सफल भइसकेपछि पार्टीले दिएको ‘वाम कांग्रेस गठबन्धन मुर्दावाद, बहुदलीय व्यवस्था धोका हो’ भन्ने नारामा चित्त नबुझेर पार्टी छाडेँ । त्यसैताका मालेमा लागेको म केही समयपछि एमालेको जिल्ला कमिटी उपसचिव हुँदै धनुषा जिविस सदस्य पनि भएँ । फेरी २०६२ पछि भने राजनीतिमा सक्रिय भइनँ ।’
खान लाउन धौधौ हुने परिवारको मान्छे भएकोले गुजाराका लागि जनकपुरमा किराना पसल चलाइएर रहेको उनी बताउछन् । दोस्रो जनआन्दोलन सफल भएपछि एकदिन साह प्रचण्डलाई भेट्न काठमाडौं गएका थिए । तर, कडा सुरक्षा घेराभित्र बसेकाले उनले प्रचण्डलाई भेट्न पाएनन् ।
‘त्यसपछि दुईचार पैसा कमाई होला भनेर मलेसिया गएँ । तीन वर्ष प्लाष्टिक कारखानामा हाड घोटेर फर्किए लगत्तै रामराजाप्रसाद सिंहको जीवनीसम्बन्धी पुस्तक विमोचनमा प्रचण्डलाई भेट्ने संयोग पर्यो । उहाँले इतिहास बिर्सनुभएको रहेनछ, म खुसी भएँ’ कमलदेवले भने, ‘त्यस अवसरमा प्रचण्ड आफैँले बमको प्रसङग सार्वजनिक नगरेको भए शायद मैले कहिल्यै पनि भन्ने थिइन होला । र, त्यो रहस्य सायद सधैँका लागि रहस्य नै रहने थियो होला ।’
भारतीय स्वतन्त्रता सङग्राममा शहीद भएका भगतसिंहलाइ कमलदेव आदर्श मान्छन् । ‘उनको भनाई थियो, मान्छे मार्न होईन, जोगाउन बम पड्काउनुपर्छ । उनको यस विचारबाट म कति प्रभावित थिएँ भने मशालमा रहँदा मैले आफ्नो नाम नै भगतसिंह राखेको थिएँ । मैले प्रचण्डहरूलाई बम बनाउन सिकाएको पनि ‘मानिस मार्नका’ लागि थिएन’ कमलदेवले भने ।