जग्गा दिए खप्तडमा लगानी गर्छौ –ब्यवसायी

जग्गा दिए खप्तडमा लगानी गर्छौ –ब्यवसायी

सुदीप थापा
१०, असोज (धनगढी)
खप्तडमा जग्गा उपलब्ध हुन सके पूर्वाधार विकासमा लगानी गर्न सकिने ब्यवसायीहरुले बताएका छन् ।
४०औं विश्व पर्यटन दिवसको सन्दर्भमा उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्धारा शुक्रबार धनगढीमा विभिन्न क्षेत्रका अगुवाहरु, पर्यटन व्यवसायीबीच अन्तरक्रियाको आयोजना गरेको छ । दिवसका अवसरमा उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशको अयोजनामा विभिन्न क्षेत्रका अगुवाहरु, पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले उक्त कुरा बताएकी हुन् । मन्त्रालयले दिवसकै अवसर पारेर विषयगत विज्ञहरुको सुझाव लिनुका साथै अन्तरक्रियासमेत गरेको थियो ।
मन्त्रालयका अधिकृत भोजराज पाठकले प्रदेशको पर्यटन विकासका लागि मन्त्रालयको अवधारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी अधिकांशले पर्यटकहरु भित्र्याउन गन्तब्यहरुमा पूर्वाधारजन्य सुविधा नभएको गुनासो गरेका थिए ।
पर्यटन व्यवसायी परमान्द भण्डारीले भौतिक पुर्वाधारको विकास गर्न नसकिएकाले खप्तडमा पर्यटक आउने संख्या खस्कदै गएको बताए । खप्तडमा पुग्ने पर्यटकलाई भौतिक सुविधाहरुको व्यवस्था गर्न सकियो भने मात्र संख्या बढ्ने उनले बताए । अर्का ब्यवसायी दिनेश भण्डारीले जग्गा उपलब्ध गराउने ब्यवस्था गरे निजी क्षेत्र खप्तडमा पूर्वाधार निर्माण गर्ने बताए ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीचको समन्वय र सहकार्य, पर्यटनसँग जोडिएका संघ सस्थाहरुबीच आवश्यक समन्वय नहुँदा पर्यटकहरु घट्दै गएको कैलाली होटल व्यावसाय संघका अध्यक्ष कलम बमले बताए । भारतका पर्यटकलाई धेरै मात्रामा नेपाल भित्र्याउने लक्ष लिएर प्रदेश सरकारले अगाढी बढनु पर्ने डा. हेमराज पन्तले बताए । डा. पन्तले स्थानीय निकायमा रहेका पर्यटक स्थलहरुलाई विकास गरेर अगाढी बढनु पर्नेमा जोड दिए ।
हरेक क्षेत्रवाट इच्छाशक्ति र एकताका साथ अगाडी बढ्न सकियो भने पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन सकिने जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्यबहादुर थापाले बताए । कर्णालीको सफा पानीमा र्याफ्टिङ विश्वमै उत्कृष्ट पर्यटनको गन्तव्य बन्न सक्ने उनको भनाई थियो ।
समापन कार्यक्रममा उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले प्रदेशको पर्यटन विकास गर्न आफु गम्भिरतापूर्वक लागिपरेको बताइन् । ‘म जनताको सेवक हुँ, जनताकै विकासका लागि अगुवा भएर अगाडी बढ्ने मेरो प्रतिवद्धता हो’ मन्त्री भट्टले भनिन् ‘सबै क्षेत्रको सहकार्यमा मात्र प्रदेशको विकास सम्भव छ ।’
यसैबीच होटल ब्यवसायी संघ कैलालीले शुक्रबार त्रिनगर भन्सार नाकाबाट नेपाल आउने पर्यटकलाई स्वागत गरेका थिए ।