छाडा चौपायाले असुरक्षा
सुदीप थापा, ११ माघ (धनगढी)
छाडा चौपायाको समस्या विकराल बन्दै गएको छ । खुला छोडिएका गाईगोरुका बथानले किसानको धान, तरकारी बालीनाली सखाप पार्ने गरेका छन् । यति मात्रै हैन, सडक सुरुक्षा पनि उत्तिकै जोखिममा छ । सडक दुर्घटना बढेको बढ्यै छन् ।
छाडा चौपायाले घरमै आएर आफुले पालेको गाईलाई आक्रमणमा गरी घाइते बनाएको धनगढी मित्रनगरका कृष्ण चन्दले बताए । ‘गाईको पछाडिको बायाँ खुट्टा नचल्ने अवस्थामा छ’ चन्दले भने ‘व्याउने गाई घाइते हुँदा परिवार दुःखी छन् ।’
आफ्नै घर अगाडीको चौरमा चरिरहेको गाइलाई छाडा गाईका बथानले आक्रमण गरेपछि गाई सर्न पनि नसक्ने अवस्थामा पुगेको उनले बताए बताए । दुध दिँदासम्म पाल्ने र दुध दिन छाडेपछि सडकमा छाडिदिने प्रवृतिले समस्या निम्त्याएको छ । घरमा पालेको गाईले दुध दिन छाडेपछि सडकमा छाड्नु अधर्म भएको स्थानीय लक्ष्मी चन्द बताउँछिन् । ‘गाई गौमाताको रुप हुन् । कतिपयले जानीजानी पाप गरिरहेका छन्’ लक्ष्मीले भनिन् । अर्की स्थानिय इन्द्रा खड्काले स्थानीय तहहरुले छाडा चौपायाको समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले दुध दिन छाडेपछि घरबाट धपाउनेलाई टोल, समूदाय, सुरक्षा निकाय र वडा कार्यालय तथा नगरपालिकाले कार्वाही गर्ने व्यवस्था गरे समस्या घटेर जाने बताइन् । उनले भनिन् ‘यसअघि खुला छाडिएका गाइगोरुलाई भने तीन वटै सरकारले चाँडोभन्दा चाँडो ब्यवस्थापनमा ध्यान दिनु जरुरी छ ।’


