छाउगोठ भत्काउँदा सर्प भेटियो
२८ पुस (अछाम)
अछाम जिल्लाभर छाउगोठ भत्काउने अभियान चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनाललाई लाग्यो– अब आफ्नो छाउगोठ पनि भत्काउनुपर्छ । स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उनले गोठ भत्काउने निधो गरिन् । सोमबार जब उनी भत्काउन लागिन, त्यहीबेला गोठबाट सर्प निस्कियो । अछाममा पुस ९ गतेदेखि प्रहरी, प्रशासन, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा छाउगोठ भत्काउन थालियो
‘दुई दिनअघि मात्रै म त्यही गोठमा बसेकी थिएँ। प्रहरीले भत्काउनु नभनेको भए अर्कोपटक पनि त्यहीँ बस्थें,’ उनले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो ।’ प्रत्येक छाउगोठ यस्तै असुरक्षित रहेको उनको भनाइ छ । ‘प्रहरीले छाउगोठ भत्काइदियो भन्दै नराम्रो मानेका थियौं, यो त हाम्रै ज्यान जोगाउनका लागि रहेछ,’ उनी भन्छिन्, ‘छाउ नबार्दा सर्प आउँछ भन्थे, यहाँ त छाउगोठमै आयो ।’
सोमबारसम्म मंगलसेनलगायत १० पालिकाका १८ सय छाउगोठ भत्काइएको प्रहरी प्रमुख दीपक भारतीले बताए । जिल्लाका सबै छाउगोठ माघ मसान्तसम्म भत्काउने पालिकाहरूले जानकारी दिएका छन्। पालिकाहरूले स्थानीयलाई सम्झाउँदै बुझाउँदै छाउगोठ भत्काउन थालेका हुन् ।
‘१० वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको बैठकले छाउगोठ भत्काउने निर्णय गरेको हो,’ उनले भने, ‘सँगसँगै जनचेतनाका कार्यक्रम पनि अघि बढेको छ।’ माघ मसान्तसम्म कसैको घरमा छाउगोठ भए स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधा रोक्ने प्रतिनिधिले बताएका छन् ।