चौँथो पटकमा गृहमन्त्री बने खाण

चौँथो पटकमा गृहमन्त्री बने खाण

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण गृहमन्त्री भएका छन् । उनलाई आजै पद तथा गोपनीयताको शपथ गराइएको छ । तिलोत्तमा नगरपालिका ८, रूपन्देही स्थायी बसोबास गर्ने खाण २०१७ असार १८ गते स्याङ्जामा जन्मिएका हुन् । उनी नोइन्द्रबहादुर खाण र टोपकुमारी खाणका छोरा हुन् । समानुपातिकतर्फका सांसद खाणले २०३३ सालमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । 

त्यसपछि नेविसंघ रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ सालमा नेविसंघको केन्द्रीय समिति सदस्य, त्रिवि स्ववियु सभापति २०४३ र नेविसंघ अध्यक्ष २०४४ सालमा बने । त्यस्तै २०५४ सालमा नेपाल तरुण दल अध्यक्षको अध्यक्ष बने । उनी २०५६ सालदेखि निरन्तर नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य छन् ।

उनी रूपन्देही ३ बाट २०४८ सालमा प्रतिनिधि सभा सदस्य तथा संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा  निर्वाचित भएका थिए । खाणले संविधान निर्माणमा विभिन्‍न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । 

यसअघि उनी शिक्षा तथा खेलकुद राज्यमन्त्री,  २०६६ सालमा सिँचाइमन्त्री र २०७३ मा रक्षामन्त्री बनेका थिए ।  स्‍नातक पास गरेका खाण कांग्रेसको विद्यार्थी र युवा फाँट दुवैको नेतृत्व गरेका छन् । संसदीय राजनीतिमा अनुभवी सांसदका रूपमा परिचित उनी चारपटक जनप्रतिनिधि बनेका छन् । 

खाण राजनीतिशास्त्रमा स्‍नातकोत्तर हुन् ।