चैत ९ देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चैत ९ देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

७ चैत (काठमाण्डौं)
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै
कोरोना भाइरसको जोखिम घटाउन अत्यावश्यकबाहेक सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म रोक्ने बताएका छन् । त्यस क्रममा उनले नेपाल भित्रने सबै अन्तराष्ट्रिय उडानहरू चैत्र ९ देखि १८ गतेसम्म स्थगित गरिने ‌प्रधानमन्त्री ओलीले बताए। संक्रमण नियन्त्रणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले स‌ंघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने अत्यावश्यक सेवा बाहेक सबै बन्द हुने बताएका हुन् । उनले सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सीमानाका आवागमन नरोकिने तर स्वास्थ्य जाँचसहित आवागमनको व्यवस्था मिलाइने उल्लेख गरे । त्यसबाहेक सबै लामो दूरीका यात्रुवाहक बसलाई चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाइने पनि प्रधानमन्त्रीले घोषणा गरे। उनले मुलुकबाहिर रहेका नेपालीलाई स्वदेश फर्कन सरकारले तत्कालका लागि रोक लगाएको विषयबारे पनि आफ्नो सम्बोधनमा उल्लेख गरेका छन्।
उनले भने, “कोरोना भाइरसका कारण फर्कन तपाईँहरूलाई अप्ठेरो परेको मेरो जानकारीमा छ। हाम्रो कूटनीतिक नियोगमा सम्पर्क राख्न म अनुरोध गर्छु र हाम्रो नियोगले तपाईँको समस्या हल गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाउन चाहन्छु।
प्रधानमन्त्रीले कोरोनाभाइरससँग जुझ्न हालै भारतको अग्रसरतामा सार्क देशका नेताहरूको भिडिओ कन्फ्रेन्सपछि घोषणा गरिएको कोषमा नेपालले १० करोड रुपैयाँ योगदान दिने उल्लेख गरे।
प्रधानमन्त्री निवास बालुवाटारबाट शुक्रवार साँझ राष्ट्रका नाममा सरकारी सञ्चारमाध्यममार्फत सम्बोधन गर्दै उनले कोरोनाभाइरस विरुद्धको लडाइँमा सबैलाई एकताबद्ध भएर उभिन आह्वान समेत गरे