चेलीबेटीलाई त्यार दिन भ्याईनभ्याई
२१ माघ (डोटी)
माघ महिना लागेसँगै सुदूरपश्चिमको पहाडी समुदायका चुलोचौकामा विभिन्न परिकार तयार भइरहेका छन् । भान्सामा मात्र होइन, यहाँका गाउँबस्तीमा माघे त्यारको रौनक र खुसीयाली छ । शुक्रबार बिहान डोटीको सलेना भुमीराजमाण्डौकी सरस्वती बलायर सेलरोटी पकाउनमा व्यस्त थिइन् । नन्द कृष्णाले उनलाई सघाइरहेकी थिइन् ।
सरस्वतीकी छिमेकी राधा विष्टले बिहीबार राति नै सेलरोटी पकाएको बताइन् । उनी दिपायल कुमालीकोट बस्ने नन्दका लागि डोकोमा कोसेली राखिरहेकी थिइन् । ‘घरमा कोही छैनन्, आफैंले पुर्याउनु पर्नेछ,’ राधाले भनिन्, ‘चाडबाडका बेला चेलीबेटीलाई पुर्याउन गइएन भने साह्रै चित्त दुखाउँछन्, कोसेली पुर्याएर आजै फर्कन्छु ।’
ग्रामिण सडकमा हिजोआज विभिन्न परिकार डोकोभरी बोकेर हिँड्दै गरेका महिलाहरू भेटिन्छन् । ‘मलाई ९ जना छोरीबेटी, भान्जीहरूलाई कोसेली दिन महिनाभर भ्याइनभ्याइ छ,’ केआई सिंह गाउँपालिका–४, बास्कोटकी हिमालु विष्टले भनिन्, ‘४ जनाको घरमा पुर्याई सकेँ अब ५ बाँकी छन् ।’
माघलाई सुदूर पहाडमा छोरीबेटीको तिहारका रुपमा मनाइन्छ । डोटीमा चेली त्यार (छोरी तिहार) पनि भनिन्छ । महिनाभर चेलीबेटी (छोरी, नन्द, भान्जी) लाई विभिन्न परिकार तयार गरी कोसेली दिने गरिन्छ ।