घर बसेर आफै गएका हुन अस्पताल

घर बसेर आफै गएका हुन अस्पताल

१५ चैत, (धनगढी)
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ बर्षीय युवामा कोरोना भाइरस संक्रमित भएको पुष्टि भएका व्यक्ति दुबई हुँदै धनगढी आएका थिए ।
चैत ७ गते दुबईबाट उनी दिल्ली हुँदै काठमाडौं आइपुगेका थिए। भोलिपल्ट ८ गते बुद्ध एयरको उडानबाट नेपालगञ्‍ज उत्रिएका उनी त्यहाँबाट माइक्रो हायसमा धनगढी आइपुगेको जिल्ला प्रहरी कार्यालय धनगढी स्रोतले जनाएको छ।
उनी दुई दिन घर बसेका थिए। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको आफ्नै घरमा बस्दा परिवार र नातागोतासँगै बसेका थिए । रुघाखोकी र ज्वरो आएपछि उनी आफैं अस्पताल गएका थिए । अस्पतालले उनको स्वाबको नमुना परीक्षणका लागि काठमाडौं जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। अस्पताल भर्ना भएको चार दिनपछि शुक्रबार स्वास्थ्य मन्त्रलायले उनमा संक्रमण भएको पुष्टि गरेको थियो ।
सेती प्रादेशिक अस्पतालले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार हालसम्म अस्पतालमा १९ जनालाई आइसोलेसन वार्डमा राखिएको छ । सबैको स्वाबको नमुना परीक्षाण गर्ने क्रममा हालसम्म ८ जनाको नेगेटिभ रिपोर्ट आएको छ। १० जनाको रिपोर्ट आउन बाँकी छ। ८ जना सञ्चो भएर डिस्चार्ज भइसकेका छन्।